गुण्डागर्दी शैलीमा बिर्तामोड–३ स्थित सामुदायिक अस्पताल कब्जामा लिएर तालाबन्दी

फाइल तस्बिर

४ साउन, झापा । एउटा अराजक समूहले गुण्डागर्दी शैलीमा बिर्तामोड नगरपालिका–३ स्थित सामुदायिक नगर अस्पताल कब्जामा लिएर तालाबन्दी गरेको छ।

सयभन्दा बढी सङ्ख्यामा हातमा ब्यानर र प्लेकार्डसहित नाराबाजी गर्दै बिर्तामोडको नगर अस्पतालमा प्रवेशमा गरेको सो समूहले मंगलबार दिउँसो अस्पतालमा तालाबन्दी गरेको हो। 

frontline

उक्त समूहले अस्पतालमा उपचाररत बिरामीहरूलाई बाहिर निकालेर कार्यरत स्वास्थ्यकर्मीहरूलाई हप्काइदप्काइ गरी तालाबन्दी गरेको अस्पताल प्रशासनले जनाएको छ।

नगर अस्पतालमा १० जना बिरामीहरू थिए।  ‘६ जना बिरामीलाई हेरिसकेका थियौँ, चार जनालाई हेर्न बाँकी थियो,’ अस्पतालका चिकित्सक डा. फरहान सिद्धिकीले भने, ‘बिरामीहरूलाई बाहिर निकालेर सो समूहले अस्पतालमा ताला लगाउनुका साथै स्वास्थ्कर्मीहरुलाई समेत उपचार किन गराएको भनी हप्कायो।’ 

कुनै ठोस माग बिना एकाएक आन्दोलनमा उत्रिएका सो समूहमा अधिकांश बिएण्डसी हस्पिटलका कर्मचारीहरू रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

सो समूहमा आधाभन्दा बढी बिएण्डसी हस्पिटलका कर्मचारी रहेको डा. सिद्धिकीले बताए। ‘मादक पदार्थ सेवन गरेर आएका केही व्यक्तिले अस्पतालमा उत्पात नै मच्चायो’, एक स्वास्थ्यकर्मीले भने।

सो समूहले तैनाथ इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी र नगर प्रहरीलाई समेत अटेर गरी अस्पतालमा दुई वटा ताला लगाएका थिए।

बिएण्डसी हस्पिटलले साउन १ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको छ। तर, नगर अस्पतालमा बिमा कार्यक्रम निरन्तर चलिरहेको छ।

निजी अस्पतालहरूले बिमा कार्यक्रम बन्द गरिसकेको अवस्थामा सामुदायिक नगर अस्पतालमा सञ्चालनमा रहेको बिमा कार्यक्रमलाई चल्न नदिने उद्देश्यले निजी अस्पताल सञ्चालकले तालाबन्दी गर्न लगाएको डा. सिद्धिकीले आरोप लगाएका छन्।  

नारा जुलुस गर्दै प्रदर्शनकारीहरू नगर अस्पतालतर्फ अगाडि बढिरहेको जानकारी पाएपछि स्थानीय प्रहरीसँग सहयोग मागिएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख राजीव विष्टले बताए।

यता प्रदर्शनकारीले अस्पतालमा लगाएको ताला तैनाथ प्रहरीले फुटाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए।

सो समूहले आजै जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र समेत बुझाएका थिए। सो अराजक समूहलाई बिएण्डसी अस्पतालले परिचालन गरेको जिल्लामा व्यापक चर्चा चलेको छ।    

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here