नयाँ आर्थिक वर्ष सुरु, नयाँ बजेट कार्यान्वयनमा सँगै कर्मचारीको बढेको तलब आजैदेखि लागू
१ साउन, काठमाडौं । आज साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएको छ । आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउनेछ । त्यसैले नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही क्षेत्रमा सरकारका नीति पनि परिवर्तन हुन्छन् ।
सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको सुरुवातले विशेष अर्थ राख्छ । सरकारले १५ प्रतिशतले वृद्धि गरेको कर्मचारीको तलब आजैदेखि लागू हुँदैछ ।
यस्तै चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले आयकरको सीमा बढाएको छ । नयाँ व्यवस्थाअनुसार अविवाहित व्यक्तिको हकमा वार्षिक पाँच लाख रुपियाँसम्मको आम्दानीमा आयकर लाग्ने छैन ।
त्यस्तै विवाहितको हकमा छ लाख रुपियाँसम्म आयकर लाग्दैन । यद्यपि आफ्नो आम्दानी एक प्रतिशत सामाजिक सुरक्षा कर भने बुझाउनुपर्नेछ ।
त्यसैगरि आजदेखि पहिलो पटक विद्युती्य सेवा कर लागू हुँदैछ । यसका लागि विद्युती्य सेवा कर कार्यविधि, २०७९ तयार भएर कार्यान्वयनको चरणमा छ । यो नयाँ व्यवस्थाअनुसार अबदेखि युट्युब, फेसबुक, नेटफ्लिक्सजस्ता प्लेटफर्म करको दायरामा आएका छन् । यी प्लेटफर्मले अबदेखि नेपालमा कर बुझाउनुपर्नेछ ।
वार्षिक २० लाख रुपियाँभन्दा बढी आम्दानी गर्ने यी प्लेटफर्मले कारोबार मूल्यको दुई प्रतिशत कर तिर्नुपर्ने व्यवस्था आर्थिक ऐनले गरेको छ ।
यस्तै यसअघि १३ प्रतिशत रहेको दूरसञ्चार सेवा शुल्क नयाँ आर्थिक वर्ष सुरु भएसँगै १० प्रतिशत कायम गरिएको छ । यसले गर्दा दुरसञ्चार सेवा केही सस्तो हुने अपेक्षा गरिएको छ ।
साउनदेखि नै सरकारले सिंहदरबार परिसरबाट ग्यास सिलिन्डर विस्थापन गर्ने कार्यक्रम कार्यान्वयन गर्दै छ ।
प्रतिक्रिया दिनुहोस्