ललितपुर महानगरमा दुई जनामा डेंगी पुष्टि, जोखिममा काठमाडौं

२६ असार, ललितपुर । ललितपुर महानगरपालिका– ५ मा दुई जनामा डेंगी पुष्टि भएको छ । डेंगी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो ।

डेंगी पुष्टि भएका एक जना ८ कक्षा र अर्को स्नातकमा अध्ययनरत विद्यार्थी हुन् । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार गत ९ असारमा पहिलो केस पुष्टि भएको थियो । दुवै जना गणेशमान अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । 

frontline

‘होस्टेलमा बसेर पढ्ने विद्यार्थी रहेछन् । थप शंकास्पद डेंगीका बिरामी पनि छन् । रिपोर्ट आउन बाँकी छ,’ ललितपुर महानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक डिल्लीशेर केसीले भने । उनका अनुसार सोही वडामा नौ जना डेंगीका शंकास्पद बिरामी छन् । 

जिल्ला स्वास्थ्य कार्यालयले पनि शंकास्पद बिरामी रहेको बतायो । ‘पाँच नम्बर वडामा केस देखिएको हो । ज्वरो आएपछि ओपीडीमा आएका उनीहरूको परीक्षण गर्दा डेंगी पुष्टि भएको हो,’ कार्यालयका प्रमुख सतीश विष्टले भने, ‘नियन्त्रण गर्न पालिकासँग समन्वय गरेर काम भइरहेको छ ।’

नियन्त्रण गर्न लार्भा नष्ट अभियान

डेंगीको प्रकोप बढेसँगै जिल्ला स्वास्थ्य कार्यालय र महानगरपालिकाले नियन्त्रण गर्न अभियान सुरु गरेको छ । ‘महानगरपालिकाभित्रका २९ वटै वडामा लार्भा नष्ट गर्ने अभियान चलाएका छौँ,’ निरीक्षक केसीले भने, ‘महामारीको रूप लिन सक्छ । लामखुट्टे छोटो समय बाँच्ने भएकाले एक महिना अभियान चलाउँछौँ ।’ 

महामारी आउन सक्ने भन्दै लार्भा नष्टसँगै घर करेसाबारी सफा गर्ने अभियान पनि चलाइएको बताउँछन् उनी । ‘फोहोर पानीमा लामखुट्टे बस्दैन । सफा पानीमा बस्ने हो । घरवरिपरि पानी जम्न दिनु हुँदैन,’ उनले भने, ‘अहिले बिग्रिएर राखिएको गाडीका टायर र ट्युबमा लामखुट्टे धेरै देखिएको छ ।’ 

मनसुनको समयमा बढी डेंगीको प्रकोप देखिन्छ । ‘पोस्ट मनसुनमा बढी डेंगी देखिन्छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुन भन्छन्, ‘पछिल्लो समय काठमाडौं उपत्यकामा पनि डेंगीको सम्भावना बढेर गएको छ । काठमाडौं रिस्कमा छ ।’

डेंगीका लक्षण

डेंगी एडिस लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । टोकेको ४ देखि १० दिनमा यसको लक्षण देखिन्छ । ‘ज्वरो आउने, जिउ दुख्ने, आँखाको गेडी दुख्ने लक्षण देखिन्छ,’ डा. पुन भन्छन् । हालसम्म डेंगीको उपचार यही हो भन्ने छैन । ‘लक्षणका आधारमा उपचार गर्ने हो । खोप बनेको छैन । अनुसन्धान भइरहेको छ,’ डा. पुन भन्छन्, ‘अत्यधिक रक्तस्राव भएर समयमा उपचार भएन भने मृत्युसमेत हुन सक्छ ।’ डा. पुनका अनुसार डेंगीले शरीरका अन्य अंगमा समेत असर पुर्‍याउन सक्छ । 

डेंगी बाहिर अन्य देशबाट पनि आउन सक्ने बताउँछन् डा. पुन । ‘एउटा संक्रमित व्यक्ति कुनै देशबाट आयो भने यहाँको रैथाने लामखुट्टेले उसलाई टोक्छ र लामखुट्टेमा सर्छ । त्यो लामखुट्टेले फेरि अर्कोलाई टोक्छ अनि उसलाई पनि सर्छ । यसरी धेरैलाई फैलिन्छ,’ डा. पुन भन्छन्, ‘गाडीबाट पनि एक ठाउँबाट अर्को ठाउँमा लामखुट्टे पुगिरहेको हुन्छ ।’

जोगिने उपाय

डेंगीबाट जोगिने भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो । लामखुट्टे बिहानको समय र अपराह्न तीन/चार बजे सक्रिय हुने गर्छ । त्यसैले वरिपरि लामखुट्टे बस्ने वातावरण सिर्जना गर्न नहुने बताउँछन् डा. पुन । ‘वरिपरि पानी जम्न नदिने  र लामखुट्टे बस्ने अनुकूल वातावरण बनाउनुभएन,’ उनी भन्छन्, ‘जनचेतना फैलाउनु आवश्यक छ ।’ कार्यालयमा काम गर्नेहरूमा डेंगीको संक्रमण धेरै हुने गरेको बताउँछन् डा. पुन । 

जोखिममा काठमाडौं

विज्ञहरू काठमाडौं जोखिममा रहेको बताउँछन् । ‘जनघनत्त्व धेरै छ । शहरीकरण र मानिसको आवातजावतले काठमाडौं जोखिममा छ,’ डा. पुन भन्छन् । 

नेपालमा सन् २००४ मा डेंगी पुष्टि भएको थियो । सन् २०१० मा पनि धेरै संख्यामा डेंगीका बिरामी थिए । सन् २०१९ मा धरानमा देखिएको थियो ।

त्यसपछि सबै जिल्लालाई डेंगीले छोएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका ३० भन्दा बढी जिल्लामा डेंगी देखिएको छ । विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा डेंगीको प्रकोप बढी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here