महामारीमा रोजगारी गुमाएकालाई श्रमिकलाई सहयोग गर्न राष्ट्रपति भण्डारीद्धारा ध्यानाकर्षण

फ्रन्टलाइन देश दुनियाँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकप्रति सम्मान प्रकट गर्नुभएको छ ।
यस दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताका सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ । महामारीविरुद्ध अग्रपंक्तिमा काम गर्ने श्रमिकप्रति धन्यवाद व्यक्त गर्दै राष्ट्रपति भण्डारीले उनीहरुको सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न तथा रोजगारी गुमाउने श्रमिकको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध गर्न सम्बद्ध पक्षको ध्यान आकृष्ट गर्नुभएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरका कारण देशमा पुनः संक्रमण बढ्दै गएको हुँदा यसको फैलावटलाई तोड्न नेपाल सरकारले विभिन्न शहर एवं जिल्लामा निषेधाज्ञा जारी गरेबाट जनजीवनमा केही अप्ठ्यारो स्थिति सिर्जना भए पनि जनताको जीवन रक्षालाई पहिलो प्राथमिकता दिँदै सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्न र निषेधाज्ञाका नियमह कडाका साथ अवलम्बन गर्न पनि राष्ट्रपति भण्डारीले सबैलाई आह्वान पनि गर्नुभएको छ ।




प्रतिक्रिया दिनुहोस्