तीन स्वर्ण र एक काश्यपदक जित्न सफल सुष्मा परियार

म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न विधामा गरी ३ स्वर्ण र १ रजत पदक जितेपछि आमा मनकुमारीको साथमा मेडल र प्रमाणपत्रसहित तस्बिर खिचाउँदै प्रकाश माध्यमिक विद्यालयका छात्रा सुष्मा परियार । तस्वीर रासस

२२ असार, गलेश्वर । मनकुमारी परियार-नाम जस्तै मनकारी । राखुमा जन्मिएकी मनकुमारीले मन र जीवन भकिम्लीका टीका उर्फ पूर्णलाई दिइन्। उनले सोचिनकी अब मेरो जीवन पनि पूर्ण हुने भयो । तर जीवनमा सबै भने जस्तो कहाँ हुन्छ र ?

जब पूर्णसँग मनकुमारी रङ्गीन सपना पूरा गर्न घर पुगिन् त्यसपछि छाँगाबाट खसे झैँ भइन् उनी । कारण, पूर्णको घरमा त पहिल्यै पत्नी र छोराछोरी थिए । दोधारमा परिन् मनकुमारी । जाउ कहाँ जाउ ? गुहार मागू कसलाई ? भएन भनेर कोखका सन्तान जन्मने प्रक्रियामा थियो । मनकुमारीले अठोट गर्नुभयो जस्तै दुःख सहेर भए पनि अब म यसैका निम्ति बाँच्नुपर्छ ।

frontline

त्यसपछि सुरु भयो उनको सङ्घर्षको कथा । के गरिनन् उनले ? संजोगले बेनी नगरपालिकामा बजारमा ट्र्याक्टर चढेर फोहर सङ्कलन गर्ने काम पाइन् मनकुमारीले । घिन मानिनन्, अल्छी गरिनन् काममा । सबैलाई मीठो बोली र कामले लोभ्याइन् । एकातिर काखमा बच्चा अर्कोतिर कामको चटारो हरेस नखाइकन निरन्तर काममा लागिन्। छोरीको जन्म भयो । नाम राखिन् सुष्मा परियार ।

हो, यिनै सुष्मा परियारले २०७९ असार २० र २१ गते सम्पन्न राष्ट्रपति कपमा तीन स्वर्ण र एक काश्यपदक जितेर सबैलाई चकित तुल्याएकी छिन् । उमेरले १३ वर्ष लागेकी बेनीको प्रकाश माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने सुष्माले दौडतर्फ १०० मिटर, २०० मिटर र ४०० मिटर रिलेमा तीन स्वर्ण र एक हजार ६०० मिटर रिलेमा काश्यपदक जित्न सफल भएकी हुन् । अब सुष्माले पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा म्याग्दीको प्रतिनिधित्व गर्दै छिन् ।

सुष्मा त्यसै सफल भएकी होइन । उनको सफलतामा आमा मन कुमारीको ठूलो हात छ । एकातिर बुबाको साथको अभाव अर्कोतिर आफ्नो आर्थिक अवस्था । ‘दशौँ वर्ष गरेको नगर पालिकाको जागिर पनि गयो । अहिले पाण्डे मेडिकल र सञ्जिवनी हस्पिटल साथमा केही घरमा काम गरेर दैनिक गुजारा चलाइरहेकी छु ।

महिनाभरिको कमाइले के घर भाडा तिर्ने ? के हातमुख जोर्ने ?,’ गहभरि आँसु झार्दै मनकुमारीले भनिन्, ‘कति दिन त पैसा नभएर रित्तै हात स्कुल पठाएँ । कैयौँपटक कापी, कलम किन्ने पैसा भएन । यसले कहिल्यै गुनासो गरिनन् ।

अचानक अमिसाले फोन गरेर सुष्माले जितिन् भन्दा भुइँमा खुट्टा रहेन । दौडेर मञ्चमा पुगे । छोरी र साथीहरुलाई बधाई दिएँ आज यसको सफलताले सबै दुःख बिर्सिएको छु । सर मिसलाई नै अभिभावक सम्झेर प्रकाश मावि पढाएको छु, आशा छ स्कुलले यसलाई पक्कै मान्छे बनाउनेछ।’

‘गत वर्ष शारीरिक शिक्षाको अभ्यास गराउँदा आँखामा परेका थिइन् सुष्मा । राष्ट्रपति कप हुने भन्‍ने बित्तिकै उनको तस्बिर झलझली आँखा अगाडि नाँच्यो । नभन्दै साथी माझ अब्बल सावित भएर छनोट भइहालिन्,’ प्रकाश माध्यमिक विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख विनय श्रेष्ठले भने।

यस्तै विद्यालयका निमित्त प्रधानाध्यापक लेखबहादुर हमालले सुष्माको अहिलेको प्रदर्शनले खुसी बनाएको बताए । उनले भने ‘सुष्माको प्रदर्शनले हामी खुसी छौं । विद्यालयको नाम राखेकी छन् । विद्यालयले गर्नुपर्ने सहयोगमा हामी कमी हुन दिने छैनौँ।’

‘सरमिस, विद्यालय र साथीले साथ दिनुभयो, धन्यवाद छ । विद्यालयको नाम राखेँ अब जिल्लाको नाम राख्न सकूँ । यही सपना बोकेर पोखरा जानेछु । आमाको सपना पूरा गर्नेछु । मेरा पदक आमाबुबालाई समर्पण छ ।’ खुसी व्यक्त गर्दै सुष्माले भनिन् ।

अहिले सिङ्गो समाज सुष्माको अभिभावक बनेको छ । सुष्मालाई मान्छे बनाउन र बुवाको कमी महसुस हुन नदिन वास्तवमै सहयोगी हातको खाँचो भएको विद्यालयका शिक्षक विनय श्रेष्ठले बताए ।

म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न सातौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिताबाट गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कपका लागि म्याग्दीबाट विभिन्न विधामा गरी ९३ खेलाडी छनोट भएका छन् ।

मंगलबार सम्पन्न भएको प्रतियोगितामा पुरुष तथा महिला भलिबल, कबड्डी मार्सलआर्ट विधाका खेलाडी छनोट गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए । ‘जिल्लाबाट विभिन्न विधामा गरी ९३ जना खेलाडी छनोट भएका छन्, प्रदेशस्तरीय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने प्रयास गर्छौं’, अध्यक्ष केसीले भन्नुभयो ।

अध्यक्ष केसीका अनुसार जिल्लाभर समग्रमा बेनी नगरपालिका प्रथम भएको छ । स्थानीय तहबाट सहभागी विद्यालयस्तरको स्वर्णसहितको पदक आज वितरण गरिएको छ ।

असार २३ र २४ गते प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराउने खेलाडी छनोट गर्न जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरिएको थियो । छनोट भएका खेलाडीहरु प्रदेशस्तरीय प्रतियोगिताका लागि आजै पोखरा जाँदैछन् । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here