मलको चरम अभाव खेपिरहेका गोरखाका किसानले मल पाएपछि हारालुछ

२१ असार, गोरखा । बिगत ११ महिनादेखि मलको चरम अभाव खेपिरहेका गोरखाका किसानले मल पाएपछि हारालुछ गरेर मल लगेका छन् ।

सदरमुकामको शक्तिचोकस्थित अनिता एग्रोभेट पसलका पसलेले मल झिकाएपछि किसानहरु मल लिनका लागि दौडादौड गरेका थिए।

frontline

बोराका बोरा मल आए पनि आवश्यकता र आपूर्तिको सन्तुलन नमिल्दा व्यापारीले किसानहरुलाई पाँच–पाँच किलो मात्र मल दिएका छन्।

पाँच किलो मल हात्तीको मुखमा जीरा हुने भन्दै किसानहरुले असन्तुष्टि जनाएका छन्। घन्टौं लाइन बसेर उनीहरुले पाँचपाँच किलोका दरले मल पाएका छन्।

पर्याप्त मल नपाउँदा खेतीबाली गर्न समस्या भइरहेको गोरखा नगरपालिका–७ नयाँबजारका स्थानीय डिलबहादुर श्रेष्ठले बताए। ‘एक जनाले पाँच केजी मात्र पाउने रहेछ। त्योभन्दा बढी लान पाइँदैन रे।

यति मलले के पुग्ला र खै’, उनले दुखेसो गरे, ‘यसमा कुखुराको वा गाईबस्तुको मल हालेर पनि पुग्दैन। यो मल भिटामिन जस्तो हो, मकैमा मल हाल्यो भने मकैमा ठूलो घोका लाग्छ र धानमा पनि बाला लामो फल्छ।’

यदि मल नहालेमा मकै धानको बोट नै सानो हुने र घोगा तथा बाला सानो हुने उनले बताए। 

गत साउनमा मल लिन आए यता ११ महिनापछि बल्ल मल लिन आएको तर नपाएको उनको गुनासो छ। ‘हातमा पैसा लिएर मल खोज्न हिँड्दा पनि कतै एक दानो मल पाइएन।

अघिल्लो वर्षको साउनमा मल बाँडेको थियो। त्यसपछि ११ महिना पछि आज मल लिन आएको छु’, ११ महिनासम्म जनताले मल पनि नपाएको उनले बताए।

यस्तै लक्ष्मी बजारका चन्द्रसिंह बस्नेत पनि मल लिन लाइनमा बसिसरहेको थिए। पाँच केजी मल लिन एक डेण्ढ घण्टादेखि लाइनमा बसेको उनले बताए।

सोमबार बाँडेको मल नपुग्ने बताउँदै अरु मल मिसाएर हाल्नुपर्ने उनको भनाइ छ। बस्नेतको जग्गा दश रोपनीभन्दा बढी रहेको तर एग्रोभेटबाट बाँडिएको मल जम्मा दुई रोपनीलाई मात्र पुग्ने बताए। 

त्यस्तै मल पाउनकै लागि लाइनमा कुरेर बस्नु परेको तर पर्याप्त मल नपाएको ठिँगुरेस्वाराका स्थानीय सिता कुँवरले बताइन्। ‘मल पाउनकै लागि दिनै खेर फालेर यहाँ आउन परेको छ। तर मल जम्मा पाँच किलो पाउने रहेछ। यसले त केही पुग्दैन। हाम्रो चार रोपनीभन्दा बढी जमिन छ।

पाँच केजी मलले जम्मा दुई रोपनीलाई हुन्छ’, उनले भनिन्। मल नपाउँदा बालीनाली राम्रो नहुने उनको भनाइ छ। 

गोरखा नगरपालिका वडा नं ५, ६ र ८ नम्बर वडाका कृषकहरुलाई अनिता एग्रोभेटबाट मल वितरण हुँदै आएको छ। सोमबार यहाँ डिएपी र युरिया मल ४०-४० बोरा प्राप्त भएको सो एग्रोभेटका प्रोपाइटर रामशरण कोइरालाले बताए।

उनका अनुसार सोमबार मात्र करिब २ सय १० जनाभन्दा बढीले मल लिएर गएका छन्। ‘सरकार मल कम पठाएको छ। त्यसैले सबैलाई पुर्‍याउने गरी प्रत्येक व्यक्तिलाई पाँच-पाँच केजीका दरले मल वितरण गर्दै आएका छौँ।

यहाँको तीन वटा वडाका लागि यो धेरै अपुग हो’, उनले भने। युरिया मल एक केजीका २५ र डिएपी मल एक केजीलाई ५५ रुपैयाँको दरले वितरण गर्दै आएको उनले बताए। 

११ महिनापछि पहिलो पटक मल आएको तर किसानलाई चाहिने जति मल नआएको उनको भनाइ छ। तीन वटाका लागि युरिया मल ४ हजार दुई सय बोरा, डिएपी मल २ हजार एक सय बोरा र पोटास मल ११ सय बोरा आवश्यक पर्ने उनले बताए।

सरकारले समयमै मल नपठाउनु र पर्याप्त मल नपठाउँदा किसानहरु मर्कामा पर्ने गरेको उनले बताए। अब कहिले आउने ठेगान नभए पनि उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here