काठमाडौंमा हैजाको आउटब्रेक हुनसक्ने जोखिम
१० असार, काठमाडौं । काठमाडौंमा हैजा महामारीकै रुपमा फैलनसक्ने केही पूर्वसंकेत देखिसकेको जनस्वास्थ्यविद्हरुले बताएका छन् ।
२ असारमा बागबजारमा बस्ने दिदीबहिनीमा पुष्टि हैजा शुक्रबार दिउँसोसम्म आइपुग्दा उपत्यकाका सात ठाँउका मानिसमा देखा परिसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजाका आठ जना बिरामी फेला परेका छन् ।
संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नु हैजा महामारीकै रुपमा फैलनसक्ने पूर्वसंकेत भएको जनस्वास्थ्यविद्हरु बताउँछन् ।
महाशाखाका निर्देशक डा. चुम्मनलाल दास पनि हैजाको आउटब्रेक हुनसक्ने जोखिम रहेको बताउँछन् । ‘हैजाको संक्रमणको स्रोतमा अझैसम्म पनि पुग्न सकिएको छैन । त्यो स्रोत एकिन गर्न सकिएको भए रोकथाम तथा नियन्त्रण गर्न सकिन्थ्यो होला,’ डा. दासले भने, ‘दिनहुँ नयाँ–नयाँ स्थानमा हैजा फैलिरहेको छ, जसले महामारीको रुप लिन समय लाग्दैन ।’
हैजा पुष्टि भएसँगै कारण पत्ता लगाउन एवं रोकथाम तथा नियन्त्रणबारे सुझाव दिन जनस्वास्थ्य कार्यालय, काठमाडौंले छानबिन टोली गठन गरेको छ । कार्यलयका प्रमुख वसन्त अधिकारीको संयोजकमा गठित ६ सदस्यीय टोलीले बागबजारमा हैजा संक्रमित भेटिएको घरको पानी नमुना परीक्षण गर्दा इकोली र कोलिफर्म जीवाणु भेटिएको छ । डिल्लीबजारको संक्रमितले प्रयोग गरेको धाराको पानीमा पनि कोलिफर्म जीवाणु भेटिएको महाशाखाले जनाएको छ ।
‘बागबजार तथा डिल्लीबजारको पानीमा जीवाणु देखिए पनि स्रोत पहिचान गर्न गाह्रो भइरहेको छ । पानीको मुहानमै वा कतैबाट सरेको हुनसक्ने अनुमान लगाएका छौं’, डा. दासले भने, ‘हैजाको मुख्य स्रोतको पहिचान भएको छैन ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन हैजा भित्रभित्रै फैलिइसकेको आशंका गर्छन् । त्यसमा सहमत अर्का संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी भन्छन्, ‘काठमाडौं उपत्यकामा मानिसको जनधनत्व बढी छ । पानीमा दिसाको पाइने जीवाणु भेटिरहेको छ । जुन पानी अन्य मानिसले पनि सेवन गरेका होलान् । जसका कारण संक्रमण भित्र–भित्र फैलिरहेको छ । केही दिनमा आउटब्रेक हुन्छ ।’
अहिले अस्पतालमा ८ जना भर्ना भएका छन् । हैजा १० जना बिरामीमध्ये एक जनामात्रै जटिल अवस्थामा पुग्छन् भन्ने मानिन्छ । त्यसरी हेर्दा अहिले नै काठमाडौं उपत्यकामा सयभन्दा बढी हैजाको संक्रमित भइसकेको अनुमान गर्न सकिने डा. अधिकारी बताउँछन् । भन्छन्, ‘कतिपय मानिसलाई हैजा भएको पनि थाहा छैन । झाडापखला भएर आफैं ठिक भएको होला ।’
हैजा फैलन नदिन खोपको तयारीसँगै जनचेतनाको पाटो बढाउनुपर्ने विज्ञहरूको सुझाव छ । वर्षायाममा धेरै पानी पर्छ । पानीले थुप्रिएको फोहोर कुहिन्छ र फोहोरबाट निस्कने रस वर्षाको पानीले बगाएर लग्छ । दिसाका जिवाणु इनार वा पानीको मुहानमा मिसिँदा हैजा संक्रमण गराउँछ ।
त्यसैले हैजा विरुद्धको खोपको दिन सरकारले आवश्यक तयारी चाल्नुपर्ने डा. पुनको सझाव छ । ‘जोखिमयुक्त ठाँउमा हैजाको खोपका दिन थाल्नुपर्छ । खोप ल्याउने कदम अगाडी बढाउनुपर्छ,’ संक्रामक रोग विशेषज्ञ डा. पुन भन्छन्, ‘संक्रमण फैलिएपछि नियन्त्रण गर्न सकिँदैन । भोलि अवस्था जटिल बन्नसक्छ ।’
२०६६ सालमा जाजरकोट महामारीकै रुपमा फैलिएको थियो हैजा
२०६६ सालमा जाजरकोटमा फैलिएको हैजाबाट ३५० जनाको ज्यान गएको थियो । ६० हजारभन्दा बढीलाई उपचार गराउनु परेको थियो । त्यससमयमा सुर्खेत, दैलेख, रुकुम, रोल्पा लगायतका सात जिल्लामा हैजा देखा परेको थियो । ‘सन् २००९ मा जाजरकोट लगायतका सीमावती जिल्लामा फैलिएको हैजाले महामारी निम्ताएको थियो,’ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्, ‘आठ जिल्लाका सयभन्दा बढी गाविसमा एकैपटक हैजा फैलिएको थियो ।’
काठमाडौं उपत्यकामा भने सन् २०१५ र २०१६ यता हैजाका बिरामी फाटफुट देखिएका छन् । तर काठमाडौं उपत्यका जहिले पनि जोखिममा रहने बताउँछन् उनी ।
काठमाडौंमा उपत्यकामा पिउने पानीलाई सुरक्षित बनाउने संयन्त्र राम्रोसँग विकास हुन नहुँदा पनि हैजा फैलिने गरेको उनी बताउँछन् । ‘काठमाडौंमा ढल र खानेपानी पाइप एकैठाउँमा छ । अहिले हैजाको फैलिएको माध्यम ढल फुटेर भएको हुनसक्छ,’ डा. मरासिनीले भने, ‘उपत्यकामा पिउने पानीलाई सुरक्षित बनाउन नसकिएको कारण हैजा फैलिने ठूलो जोखिम छ ।’
हैजाबाट बच्न विशेषगरी पिउने पानी तथा बजारमा राखिएका खानेकुरामा ध्यान पुर्याउनुपर्ने डा. पुनको सुझाव छ । ‘ठाउँ–ठाँउमा हैजाका बिरामी देखिएको हुँदा धारा वा जारको पानी जुन भएपनि राम्ररी उमालेर पिउनुपर्छ । त्यसैगरी पटक–पटक हातखुट्टा पनि राम्ररी धुने गर्नपर्छ,’ डा. पुन भन्छन्, ‘सिधै पानी पिउनु हुँदैन । ७० डिग्रीसम्म पानी ततायो भने पनि जीवाणु मर्छ ।’
झिँगामार्फत पनि हैजाको संक्रमण सार्न सक्ने भएकाले खानेकुरालाई राम्ररी छोपेर राख्न उनी सुझाव दिन्छन् । हैजा संक्रमण भएको व्यक्तिको दिसा पानीमा पुग्यो र त्यो पानी पिएको खण्डमा पनि हैजा सजिलै सर्छ । त्यसैले सरसफाइमा विशेष ध्यान जरुरी रहेको बताउँछन्, संक्रामक रोग विशेषज्ञ डा. अधिकारी ।
प्रतिक्रिया दिनुहोस्