उपाध्यक्ष कार्कीसहित ९ जनालाई निलम्बन गर्ने अखिल क्रान्तिकारीको निर्णय

६ असार, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गरेको छ ।

आइतबार काठमाडौंमा बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले उपाध्यक्ष कार्की र ८ जना केन्द्रीय सदस्यरुलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

frontline

कार्कीसहित केन्द्रीय सदस्यहरु बसन्ता भण्डारी, पदम नेपाली, रमेश खड्का, बालकुमार केसी, उपदेश यादव, सन्जिव चौधरी, रविन बस्नेत र समिर बुढाथोकी निलम्बनमा परेका छन् ।

अनुशासन विपरीतको काम गरेकाले कार्कीसहित ९ जनालाई अनिश्चितकालसम्मका लागि निलम्बन गर्ने निर्णय बैठकले गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए ।

बैठकमा कार्की समूहले विधि विधान विपरीत जिम्मेवारी बाँडफाँट लगायतका निर्णयहरु गरेको भन्दै नेतृत्वविरुद्ध नाराबाजी गरेको थियो । नाराबाजी गर्ने क्रममा हात हालाहाल हुँदा स्थिति तनावपूर्ण बनेको थियो ।

सोही बैठकले १२ लाख सदस्यता वितरण र १५ हजार कमिटी निर्माण गर्ने लक्ष्य सहित अभियान चलाउने निर्णय समेत गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष मैनालीले बताए ।

त्यसका लागि ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी)’ मूल नारासहित तीन महिना अभियान चलाउने उनले बताए ।

नयाँ केन्द्रीय सदस्यहरुको आज शपथ

यसैबीच अखिल क्रान्तिकारीले २९९ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ । आइतबारको बैठकले १९९ जना केन्द्रीय सदस्य थप्दै समितिलाई पूर्णता दिएको हो ।

थपिएका केन्द्रीय सदस्यहरुको आज दिउँसो १ बजे केन्द्रीय कार्यालय बागबजारमा शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ ।

गत २०७८ असोज १४ देखि १८ गतेसम्म चलेको अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पञ्चा सिंह चुनिएकी थिइन् ।

अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरु भने टुंगो लागेको थिएन । त्यसको दुई महिनापछि मंसिरमा केन्द्रीय कमिटीमा रहने भन्दै १९९ जनाको नामावली सार्वजनिक गरिएको थियो । २०७९ वैशाखमा महासचिवमा दिपेश पुनसहितका ४१ सदस्यीय पदाधिकारी टुंगो लगाइएको थियो ।

महासचिवका दाबेदार पवन कार्कीको नाम उपाध्यक्षमा थियो । त्यसमा उनी असन्तुष्ट थिए । केन्द्रीय समिति निर्माणदेखि पदाधिकारी चयनसम्म उचित तरिकाले नभएको भन्दै उपाध्यक्ष कार्कीले समानान्तर गतिविधि गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here