आबुँखैरेनीको रुवाखोला पुलबाट टिप्पर खस्दा एक जनाको मृत्यु

२ असार, तनहुँ । जिल्लाको आबुँखैरेनी गाउँपालिका-४ पावरहाउसस्थित पृथ्वीराजमार्ग सडक खण्डको रुवाखोला पुलबाट मिनी टिप्पर खस्दा एक जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान मुग्लिनबाट आबुँखैरेनीतर्फ आउँदै गरेको ग १ क ४४६९ नम्बरको मिनी टिप्पर अनियन्त्रित भई पुलबाट २० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।




मृत्यु हुनेमा टिप्पर चालक जिल्ला तनहुँ, म्यादे गाउँपालिका ६ मनपाङ का ४७ वर्षीय रामबहादुर दमै रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
उनका अनुसार दुर्घटनापश्चात् गम्भीर घाइते भएका दमैलाई उपचारको लागि पुरानो मेडिकल कलेज चितवन लगिएको थियो । उनको उपचारको क्रममा बिहान ६:१० बजे मृत्यु भएको हो।
दुर्घटना बिहीबार बिहान साढे चार बजे भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरेहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्