खाद्य गोदाममा छापा, २० लाख मूल्य बराबरको तस्करीका सामान बरामद

२४ जेठ, विराटनगर । विराटनगरको एउटा खाद्य गोदाममा छापा हानेर मंगलबार २० लाख मूल्य बराबरको तस्करीका सामान बरामद गरिएको छ।

मोरङ प्रहरी र राजस्व अनुसन्धान कार्यालय इटहरीको संयुक्त टोलीले खाद्यान्न गोदाममा छापा मारेर ठूलो परिणामको सामान बरामद गरेको हो।

frontline

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार विराटनगर महानगरपालिका–११ स्थित केसलिया रोडमा श्यामसुन्दर रौनियारले सञ्चालन गर्दै आएको शिवम् गणपति ट्रेडिङमा छापा हानिएको हो।

विशेष सूचनाका आधारमा छापा मार्दा भन्सार छली गरेर ल्याइएको तस्करीका सामान बरामद भएको डीएसपी श्रेष्ठको भनाइ छ।

गोदाममा फेला परेको अवैध सामान मुचुल्का उठाएर राजस्वको टोलीले कारवाहीका लागि लिएर गएको छ। छापा मार्दा ३ सय बोरा दाल, चिनी, केराउलगायतका खाद्यान्न सामग्री फेला पारिएको डीएसपी श्रेष्ठको भनाइ छ।

गोदाममा राखिएका सामानको आवश्यक कागजपत्र र बिल फेला नपरेपछि बरामद गरिएको उनले बताए। भारतबाट तस्करी गरेर सामान ल्याउँदै आफ्नो गोदाममा राखेर रौनियारले बजारमा पुर्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले क्यारिङमार्फत अवैध सामान नेपाल भित्राउने गरेको खुलेको हो।

सामान बरामद गरिएपनि गोदाम सञ्चालक रौनियार भने पक्राउ परेनन्। यस विषयमा राजस्वले प्रारम्भिक अनुसन्धान गरिरहेको र रौनियारलाई कारबाहीका लागि लैजाने तयारी रहेको बताइएको छ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here