रामग्राम नगरपालिकामा बाढीको जोखिम, स्थानीय चिन्तित

२४ जेठ, परासी । आकाशमा बादल मडारिनेबित्तिकै रामग्राम–५ मा होटल व्यवसाय गरिरहेका अनुप पाठकको मन अत्तालिन्छ ।

यसअघि झरही खोलामा आएको बाढी परासी बजारमा पसेपछि सयौं घर डुबानमा परेका थिए । धेरै घर बाढीले बगाएको थियो ।

frontline

मध्यरातमा बाढी बस्तीमा पसेपछि लत्ताकपडा र खाद्यान्न बगेको थियो । सदरमुकाम डुबाएको १० महिना बिते पनि अहिलेसम्म खोला नियन्त्रण भएको छैन ।

खोलाले कटान गरेको स्थान मर्मत भएको छैन । त्यहीँबाट अहिले पनि बाढी पस्ने खतरा रहेको स्थानीय बताउँछन् । ‘मध्यरातमा एकाएक होटलमा पानी पसेर फर्निचरलगायत विद्युतीय सामान बिग्रिए ।

अहिले पनि पानी परेपछि मन आत्तिन्छ,’ पाठकले भने, ‘सदरमुकाममा नै बाढी पस्दासमेत अहिलेसम्म बाढी नियन्त्रणका लागि आवश्यक पहल हुन सकेको छैन । तत्काल झरही खोला नियन्त्रण नगर्ने हो भने यसले ठूलो क्षति पुर्‍याउने निश्चित छ ।’

स्थानीय तहले नयाँ जनप्रतिनिधि पाएको छ । रामग्राम नगरपालिकामा नेकपा एमालेले प्रमुख र राप्रपाले उपप्रमुख हासिल गरेका छन् । नगर प्रमुख धनपत यादवले पदभार ग्रहण गर्दा झरही खोला नियन्त्रण गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।

तर, वर्षा सुरु हुन लागिसकेकाले तत्काल काम सुरु नगर्ने हो भने खोलामा बाढी आएपछि काम गर्न नसकिने भन्दै स्थानीय चिन्तित छन् । ‘बाढी नियन्त्रणको काम गर्न समिति बनेको छ ।

हामी जिल्लास्तरीय विपद् र नगरको सहकार्यमा तत्काल यसअघि खोला बस्तीमा पसेको स्थानमा तटबन्ध गर्ने, खोला सफाइ गर्ने र बस्तीभन्दा माथिल्लो सतहमा पुगेको खोलाको भाग गहिरो बनाउने काम गर्दैछौं,’ नगर प्रमुख यादवले भने, ‘यसपटक नगरवासीले बाढीको जोखिम मोल्नुपर्ने छैन ।’

खहरे खोला अतिक्रमण र नदीजन्य पदार्थको वैज्ञानिक आधारमा उत्खनन र व्यवस्थापन नगर्दा जिल्लाको सदरमुकाम परासी डुबान र कटानको जोखिममा परेको हो ।

ढल निकास नहुँदा सामान्य वर्षामा पनि बजार जलमग्न हुने गरेको छ । रामग्राम मात्र होइन, जिल्लाको तल्लो तटीय क्षेत्रमा डुबान र कटानको जोखिम बढ्दो छ ।

डुबानको समयमा खोलानालाको सरसफाइ र तटबन्धको आश्वासन पाए पनि हिउँदमा स्थानीय तह र सम्बन्धित निकायले ध्यान नदिँदा बर्सेनि समस्या उस्तै छ ।

समयमा नदीको बाँध मर्मत नगर्नु, नदीजन्य पदार्थको अवैध निकासी बढ्नाले पनि बर्सेनि खोला तथा नदीले आफ्नो धार परिवर्तन गरिरहेको हो ।

जिल्लाको सरावल, पाल्हीनन्दन, सुस्ता गाउँपालिका र रामग्राम नगरपालिका बाढी र कटानको बढी प्रभावित क्षेत्रमा पर्छन् । परासीमा झरही, खजुरा, धनेवा, राईपुरवा खोलाका कारण बस्ती डुबानमा पर्ने गरेको छ ।

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताए पनि यसका लागि छुट्टै बजेट कुनै पनि स्थानीय तहले विनियोजन गरेको पाइँदैन ।

भैपरी आउने बजेटबाट काम चलाउने भन्दै यसलाई बेवास्ता गर्दा राहत र उद्धारका लागि सधैं रकम अपुग हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here