नाका कडाइ नगर्दा भयावह अवस्था आयो: फोरम सचिव श्रेष्ठ
विराटनगर। लिलामीमा परेको मंगतुराम समूहका उद्योगका श्रमिकले आफ्नो हिसाब फर्छ्यौट नभए लिलाममा लिएको उद्योगको घरजग्गा भोगचलन गर्न नदिने चेतावनी दिएका छन्।
समूहका दुई उद्योगअन्तर्गतका २ सय स्थायी कामदारले ६ करोडभन्दा बढी पाउन बाँकी रहेको दाबी गर्दै लिलाममा लिने व्यक्ति वा बैंकले त्यसको फर्छ्यौट गर्नुपर्ने माग गरेका हुन्।
समूह अन्तर्गतको अन्नपूर्ण सोप र नारायण भेजिटेबलका श्रमिक अहिले श्रम कार्यालय, राष्ट्रिय वाणिज्य बैंक, प्रहरी, प्रशासन, उद्योग वाणिज्य संघ, राजनीतिक दल र सञ्चार माध्यममा आफ्ना समस्या लिएर गइरहेका छन्। दुवै उद्योग सुनसरी जिल्लाको दुहबी-३ मा पर्दछन्।
अन्नपूर्ण सोप एन्ड केमिकल इन्डस्ट्रिजको नेपाल कारखाना श्रमिक संघले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी कामदारले २०६१ पुसदेखिको तलब, सुविधा, उपदान र सञ्चयकोष लगायतको रकम पाउनै बाँकी रहेको जनाएको थियो।
संघका अध्यक्ष गुलाबचन्द खाँले भने, ‘उद्योग सञ्चालन भइरहेका अवस्थामा २०६१ साल पुस ९ गते उद्योग सञ्चालकहरू सुबोधकुमार अग्रवाल, सुरेश अग्रवाल, किसन अग्रवाल र नारायण अग्रवाल गरी ४ जनालाई बैंक ठगी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धानले पक्राउ गरेको थियो। सञ्चालक ५ भाइमध्ये दामोदर अग्रवाल र उनीहरूका बुबा मंगतुराम भारतमा भएकाले जोगिए। त्यसपछि हामीलाई उद्योगका मेनेजरले तलब दिने भन्दै एक वर्ष झुलाएर राखे । तर अहिलेसम्म दिएका छैनन्।’
पक्राउ परेका ४ दाजुभाइ ३ वर्षपछि छुटेका थिए। राष्ट्रिय वाणिज्य बैंकले मंगतुराम समूहको सम्पूर्ण सम्पत्ति लिलामीका लागि प्रक्रिया सुरु गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्