स्वास्थ्य मापदण्डमा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय

 सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण बढे पनि शैक्षिकलगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने निर्णय सरकारले गरेको छ ।  बैठकमा यसबारे छलफल भए पनि अझै केही दिनको ‘ट्रेन्ड’ हेरेर मात्र थप रणनीति तय गर्ने निर्णय भएको छ । 

 मास्क अनिवार्य गर्ने, भिडभाडमा पूर्ण रोक लगाउने तथा सार्वजनिक यातायातमा नयाँ मापदण्ड बनाउने विषयमा बैठकमा छलफल भएको छ । स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड मंगलबार सार्वजनिक गरिने सञ्चारमन्त्री पार्वत गुरुङले बताए । 

frontline

विद्यालय बन्द नगर्न सरोकारवालाको सुझाब
 कोभिड– १९ को संक्रमण बढ्दै गए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरूले सरकारलाई सुझाब दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा उनीहरूले बन्द अन्तिम उपाय नभएको बताए । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई नै रहने भएकाले केन्द्रबाट यस सम्बन्धमा निर्णय लिइरहनु उपयुक्त नहुने भनाइ उनीहरूको थियो । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रिपरिषद्मा प्रस्ताव लैजान सरोकारवालासँग सोमबार मन्त्रालयमा छलफल गरेका थिए । छलफलमा नेपाल नगरपालिका महासंघका अध्यक्ष अशोक ब्याञ्जुले संविधानले एकल अधिकारका रूपमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार प्रत्यायोजन गरेकाले अब विद्यालय बन्द गर्ने र खोल्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने धारणा राखेका थिए । उनले अब संघीय सरकारले निर्णय गरेर लागू गर्ने भनिएका विषय कार्यान्वयन हुन कठिन हुने बताए । उनले भने, ‘जहाँ प्रभाव पारेको छ त्यहाँको स्थानीय सरकारले बन्दको निर्णय लिन सक्नेछ ।’ 

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले गृह, शिक्षा र स्वास्थ्य मन्त्रालयबीच तालमेल नभएका कारण विद्यालय खोल्ने र बन्द गर्ने विषयका कुनै निर्णय कार्यान्वयन हुन नसकेको बताए । उनले कोभिडको महामारी फैलिएको स्थानीय तह र जिल्लाका विद्यालय मात्र बन्द गर्न सकिने बताए । सबै विद्यालय एकैपटक बन्द गर्न नहुने उनको भनाइ छ । उनले विद्यालयमा गई अनुगमन गर्नुपर्ने र समस्या देखिएमा पालिकाले निर्णय गर्नुपर्ने बताए । 

शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले उपत्यकाबाहिर भयावह स्थिति नभएको र प्रकोप देखिएको स्थानमा स्थानीय तहले समन्वय गर्नुपर्ने धारणा राखे । उनले अहिलेको अवस्थामा विद्यालय पूर्ण रूपमा बन्द गर्न नहुने बताए । स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका आफैँले पालना गर्न नसकेको कारण कोरोना संक्रमितको संख्या बढ्दै गएको उनको तर्क छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here