सत्ता गठबन्धनको बैठक : गठबन्धनलाई नतोडी अघि बढ्ने निर्णय
१९ फागुन, काठमाडौं । सत्तारुढ गठबन्धनले वैशाख ३० मा हुनेमा स्थानीय तहको चुनावमा सकेसम्म मिलेर जाने निर्णय गरेको छ।
बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सकेसम्म गठबन्धनलाई नतोडी अघि बढ्ने निर्णय गरेको हो।
‘स्थानीय तहमा सकेसम्म मिलेर जानेमा गठबन्धनभित्र एक मत छ,’ बैठकपछि सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘स्थानीय तहको सबै ठाउँमा गठबन्धन गरेर जान सकिने अवस्था छैन । तर मिल्ने ठाउँमा मिलेर जाऊ भन्नेमा हामी सबै सहमत छौं ।’
यस्तै, बैठकले संसदमा महत्वपूर्ण विधेयकहरु अड्किएकाले एमालेलाई सदन अवरुद्ध नगर्न आग्रह गर्ने निर्णय पनि गरेको छ ।
नागरिकता विधेयक र हवाई उड्ययन विधेयक संसदमा गम्भिर छलफल गर्नुपर्ने विधेयक रहेको संचारमन्त्री समेत रहेका कार्कीले बताए ।
बैठकमा मन्त्री कार्कीसहित प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी रहेको थियो।
प्रतिक्रिया दिनुहोस्