छ महिनादेखि खुलै सेफ्टी ट्यांकी भित्र डुबेर एक नाबालकको मृत्यु
२८ माघ, विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा रहेको बीपी आधारभूत विद्यालयले छ महिनादेखि खुलै छाडेको शौचालयको हज (सेफ्टी ट्यांकी) भित्र डुबेर एक नाबालकको मृत्यु भएको छ।
विद्यालयले लापरबाहीपूर्ण तरिकाले खुला छाडेको महिला शौचालयको हजभित्र छिरेर डुब्दा बिहीबार साँझ सुनवर्षी–९ बस्ने सन्तोषकुमार दासका ३ वर्षीय छोरा खेम दासको मृत्यु भएको हो।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार नाबालकका अभिभावक विद्यालयभन्दा बाहिर चिया पसल गर्थे। वरपर अरु केही पसलहरु पनि सञ्चालनमा छन्।
नजिकै एउटा सार्वजनिक शौचालय पनि छ। तर सार्वजनिक शौचालय छाडेर पसल सञ्चालकहरुले विद्यालय परिषरभित्रै रहेको शौचालयको प्रयोग गर्दै आएको वडाध्यक्ष कमलकिशोर सिंहले बताए।
उनका अनुसार विद्यालयको सुरक्षाका लागि तारजाली र पर्खाल लगाएर घेराबार गरिएको थियो। स्थानीयले भने तारजाली भत्काउँदै विद्यालयभित्रको शौचालयसम्म पुग्नलाई बाटो बनाइएको सिंहको भनाइ छ।
उनका अनुसार तारजाली तोडेर बनाइएको बाटोको प्रयोग गर्दै स्थानीय शौच गर्नका लागि विद्यालयको शौचालयसम्म पुग्ने गरेका थिए।
रिङ लगाएर बनाइएको शौचालयको हज भने ढकन नलगाइकन खुलै छाडिएको थियो। शौच गर्न आमा जमुनादेवी दास विद्यालयको शौचालयतिर गएपछि ३ बर्से नाबालक पनि पछ्याउँदै गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
छोराले पछ्याएको आमाले थाहा नपाउँदा घटना भएको पाइएको डीएसपी श्रेष्ठको भनाइ छ। ‘आमा शौचालयमा पसेका बेला नाबालक भने पाँच फिटभन्दा गहिरो हजमा खसेर डुबेको खुलेको छ,’ उनले भने, ‘शौचालयबाट निस्किएर छोराको खोजी गर्दा आमाले भेट्टाउन सकिनन्।’
नाबालकले लगाएको एउटा चप्पल शौचालयको हजभित्र र अर्को बाहिर भेटिएको थियो। त्यसपछि हजभित्र छिरेको आशंकामा खोजी सुरु गरिएको थियो।
खोजीकै क्रममा हजभित्र डुबेर घाइते भएको अवस्थामा नाबालकलाई फेला पारिएको श्रेष्ठले बताए। त्यसपछि उपचारका लागि रंगेली अस्पताल भर्ना गरिएको थियो।
डीएसपी श्रेष्ठका अनुसार दिउँसो ४:४५ बजेतिर हजभित्रबाट गम्भीर घाइते अवस्थामा बाहिर निकालिएका नाबालकको उपचारका क्रममा साँझ ७ बजेतिर उपचारकै क्रममा मृत्यु भएको हो।
उनले शव पोस्टमार्टमका लागि अस्पतालमै राखेर घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिए।
विद्यालयमा महिला र पुरुष गरेर दुईवटा शौचालय छन्। गत असारमा मात्रै ढकन बनाएर दुवै शौचालयको हज ढाकिएको थियो।
तर त्यसको एक महिना पनि नबित्दै स्थानीयले महिला शौचालयको हज छोपिएको ढकन भने फुटाएर फ्यालिदिएको विद्यालयका प्रधानाध्यापक सञ्जीव राजवंशीले बताए।
उनका अनुसार ढकन नहुँदा साउनदेखि हज खुलै थियो।‘नयाँ ढकन बनाइसकिएको थियो। हज सफा गरेर लगाउने तयारी हुँदै गरेका बेला दुःखद् घटना भइदियो,’ उनले भने, ‘विद्यालयको शौचालय प्रयोग गर्नलाई विद्यालयमा घेराबार गरिएको तारजाली स्थानीयले तोडिदिएका थिए।
विद्यालयजस्तो सार्वजनिक स्थानभित्र छिरेर स्थानीयले विभिन्न गतिविधी गरिरहेका हुन्छन्।’ उनले विद्यालयको सम्पत्ति संरक्षण गर्ने विषयमा स्थानीयले साथ नदिएको गुनासो पोखे।
वडाध्यक्ष सिंहले छ महिनासम्म शौचालयको हज व्यवस्थित बनाउन र तारजाली मर्मत सम्भार गर्न चासो नदिनु विद्यालयको गम्भीर लापरबाही भएको बताए।
भत्काइएको तारजाली मर्मत गरेर व्यवस्थित नगर्दा विद्यालयको शौचालयभित्रको हजमा डुबेर नाबालकको मृत्यु भएको उनको भनाइ छ।
शौचालयको हज ढाकेर तारजालीले घेराबार गर्दै विद्यालयलाई थप व्यवस्थित बनाउन वडा कार्यालयले सहयोग गर्ने सिंहले बताए।
प्रतिक्रिया दिनुहोस्