समिट होटल भत्काइँदै पाँचतारे होटलसहित लक्जरियस अपार्टमेन्ट बन्ने
ललितपुरको सानेपास्थित समिट होटलमा अब पाँचतारे होटलसहित विलासी अपार्टमेन्ट पनि बन्ने भएको छ। हालको समिट होटलका सबै संरचना भत्काएर होटल र अपार्टमेन्ट दुवैका लागि भवन तथा अन्य पूर्वाधारहरु पूर्णरूपमा नयाँ बनाउने तयारी भएको समिटको प्रवर्द्धकमध्येको एक एनई ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठले बताए ।
नयाँ संरचनामा प्रोपर्टी निर्माण गरेपछि होटल र अपार्टमेन्ट दुवैको सञ्चालन तथा व्यवस्थापनको जिम्मा उच्चस्तरको अन्तर्राष्ट्रिय कम्पनीलाई दिने तयारी रहेको पनि श्रेष्ठले जानकारी दिए। यस विषयमा अहिले दुई-तीनवटा कम्पनीसँग छलफल भइरहेकाले यसबारे टुंगो लाग्न भने बाँकी नै छ।
कोरोनाले लामो समय होटल बन्द भएपछि नयाँ अवधारणासहित होटलसँगै अपार्टमेन्ट विस्तार गर्ने योजना फुरेको समिटका समेत अध्यक्ष रहेका श्रेष्ठ बताउँछन् । कोरोनाका कारण गत वर्ष चैत ११ बाट बन्द भएको समिट होटलले अहिले रेष्टुरेन्ट (फुड एण्ड बेभरेज) मात्रै सञ्चालन गरिरहेको छ।
जग्गाको मूल्य र लोकेसनका हिसाबले ललितपुरको प्राइम एरिया मानिने सानेपामा रहेको समिट होटल १८ रोपनीमा छ। प्राइम लोकेसनमा रहेको जग्गामा अहिलेकै साइजको होटल मात्र चलाउँदा उक्त जग्गाको सम्भाव्य व्यापारिक उपयोग नभएको विश्लेषण गरेर पनि अब त्यसमा अपार्टमेन्टसहितको पाँचतारे होटल संचालनको निष्कर्षमा यसका संचालकहरु पुगेका हुन् ।
‘राम्रै चलिरहेको प्रोफिट मेकिङ समिट होटलको एम्बियन्स नै फरक भएकाले पश्चिमा देशका पर्यटकको रोजाइमा पर्दै आएको छ। तर कोभिड-१९ ले होटलको बिजनेसमा असर गरेपछि यो लामो समय बन्द भयो। यही मौकामा ब्रेन स्ट्रोमिङ गर्ने समय मिल्यो र नयाँ आइडियाको जन्म भयो,’ श्रेष्ठले भने।
समिट होटलमा श्रेष्ठको एनई ग्रुपसहित विनोद चौधरी (चौधरी समूह/सीजी) र अमृतरत्न शाक्यको संयुक्त लगानी छ। एनई र सीजीले आर एन्ड आर हेरिटेज नामको कम्पनी खडा गरेर त्यसमार्फत २०७१ चैतमा समिटको ६० प्रतिशत स्वामित्व खरिद गरेका हुन्। बाँकी ४० प्रतिशत सेयर स्वामित्व शाक्यको छ।
अहिले यी तीनको स्वामित्व रहेको समिट होटल प्रालिले नै एउटै परिसरमा नयाँ स्वरुपमा पाँचतारे होटल र अपार्टमेन्ट सँगसँगै निर्माण गर्न लागेको हो।
यसअघि चौधरी र श्रेष्ठ बहुमत इक्विटी खरिद गरेर छिर्दा कम्तिमा एक अर्ब लगानी गरेर समिटलाई विश्वस्तरीय बुटिक होटलका रुपमा विकास गर्ने घोषणा गरेका थिए। ८३ कोठा सञ्चालन भइरहेको होटलमा थप एक सय नयाँ कोठा थप्ने गरी योजना रहे पनि काम अघि बढ्न सकेको थिएन।
यस्तै, नयाँ साझेदार भित्रिएपछि समिट ब्रान्डमै काठमाडौंको कान्तिपथमा पाँचतारे ‘अर्बन हाइराइज बुटिक’ होटल र ललितपुरको विशंखुनारायणमा ‘इको रिसोर्ट’ निर्माण गर्ने योजना अघि सारेको थियो। त्यसबेला सानेपाको समिटसहित यी तीनवटा परियोजनामा कुल पाँचदेखि ६ अर्ब रुपैयाँ लगानी गर्ने बताइएको थियो।
ती योजनामा काम हुन नसकेपछि अहिले सानेपामै अपार्टमेन्टसहित नयाँ संरचनामा होटलको परियोजना अघि बढेको हो।
काठमाडौं उपत्यकाकै प्राइम लोकेसनमध्येमा सानेपाको हाइ भ्यालु ल्यान्डमा समिट होटल मात्रै चलाएर त्यसअनुसारको प्रतिफल नआउने देखेरै होटलका सेयरधनीहरु नयाँ कन्सेप्टमा जान राजी भएको श्रेष्ठले बताए। जग्गाको भ्यालु, क्षेत्रफल र लोकेसन अनुसार नै हाइ एन्ड ग्राहकलाई लक्षित गरेर अपार्टमेन्टसमेत निर्माण गर्ने निर्णयमा पुगेको उनको भनाइ छ।
यस्तो हुनेछ अपार्टमेन्टसहितको समिट होटल
समिट होटलको अहिलेको भवन पुरानो भइसकेकाले भत्काउनै पर्ने अवस्था रहेको बताइएको छ। अहिले सञ्चालन भइरहेको होटलको भवनलाई भत्काएर नयाँ संरचनामा होटल निर्माण गर्ने गरी प्राविधिक तयारी भइरहेको श्रेष्ठले जानकारी दिए।
नयाँ भवनमा १०५ कोठाको होटल निर्माण हुनेछ। अहिले समिट होटलमा ८६ कोठा छन्। पुनर्निर्माणपछि पाँचतारेस्तरमै सञ्चालन हुने समिटको पुरानै अस्तित्व र इन्टेरियरलाई धेरै हदसम्म कायम राख्ने सोच रहेको श्रेष्ठले सुनाए। ‘होटलमा पुरानै हेरिटेजको अनुभव फर्काउने प्रयास गर्नेछौं। अलिकति आधुनिक शैलीको फ्युजन डिजाइनमा समिट होटल निर्माण गरिनेछ,’ उनले भने।
यस्तै, होटल परिसरभित्रै उत्तरतर्फ मोहडामा एक सय ६० युनिटको अपार्टमेन्ट बन्नेछ। यीमध्ये एक सय ४५ एकाइ समिटले बिक्री गर्नेछ भने करिब ४५ वटा सर्भिस अपार्टमेन्ट भाडा वा लिजमा संचालन गर्नेगरि डिजाइनको काम भइरहेको श्रेष्ठले जानकारी दिए।
समिटको होटल र अपार्टमेन्टको नयाँ संरचना आर्किटेक्चरल डिजाइनको काम सिंगापुरको मेनहार्डट इन्फ्रास्टक्चर पीटीई लिमिटेडले गरिरहेको छ।
सानेपा क्षेत्र एक्सप्याट्सहरुको बाहुल्य क्षेत्र भएकाले सर्भिस अपार्टमेन्टसहित होटललाई विस्तार गर्न खोजिएको छ। साथै प्रिमियम लोकेसनमा निर्माण गरिने प्रोपर्टी भएकाले उच्च वर्गलाई लक्षित गरेर विलासी अपार्टमेन्ट बिक्रीको योजना रहेको श्रेष्ठले सुनाए। अपार्टमेन्ट खरिदकर्ता वा भाडामा लिने व्यक्तिहरुले वर्ल्डक्लास सुविधाहरु पाउने दाबी गरिएको छ। सँगै अपार्टमेन्टधनीहरुले होटलमा रहेका हरेक सेवा सुविधा पाउनेछन्।
समग्र परियोजनाको डिजाइनले अन्तिम रुप पाइनसकेकाले अपार्टमेन्टको मूल्य र समग्र लागतको यकिन भइनसकेको श्रेष्ठको भनाइ छ। यद्यपि, अपार्टमेन्ट हाइएन्ड ग्राहकलक्षित विलासी हुने भएकाले अन्यको भन्दा मूल्य बढी हुने अनुमान छ।
डिजाइन अन्तिम चरणमा रहेकाले परियोजनाबारे विस्तृतमा छिट्टै सार्वजनिक गर्ने तयारी छ।
यसका बाबजुद अपार्टमेन्टबारे औपचारिक जानकारी सार्वजनिक नहुँदै मान्छेहरु बुकिङका लागि नाम टिपाउन कार्यालयसम्मै आइरहेकाले यो परियोजना सफल हुने संकेतहरु मिलिरहेको श्रेष्ठको भनाइ छ।
अबको दुई महिनाभित्रमा परियोजनाको सबै प्राविधिक तयारीसहित सरकारी स्वीकृति लिएर शिलान्यास गरिने बताइएको छ। काम सुरु गरेको तीन वर्षभित्र परियोजनाको निर्माण सक्ने लक्ष्य रहेको श्रेष्ठले बताए।
उनी भन्छन्, ‘मेरा लागि यो पहिलो अपार्टमेन्ट परियोजना भएकाले होटलसहितको मिश्रित प्रयोजनको यो परियोजनाले नयाँ उत्साह र ऊर्जा भरिएको छ।’
यही समूहले कान्तिपथमा यसअघि १९०५ क्लब रहेको जग्गामा आवासीय अपार्टमेन्ट, कार्यालय प्रयोजनसहित रिक्रिएसन सेन्टर निर्माणको योजना बनाएको छ। करिब सात रोपनी क्षेत्रफलमा बन्ने यो परियोजनाको प्राविधिक तयारी नै भइरहेकाले अन्य कुनै विवरण भने सार्वजनिक गरिएको छैन।
समिटका तीन साझेदारमध्ये चौधरीको आवासीय रियल इस्टेट विकास तथा संचालनको अनुभव भएपनि श्रेष्ठ र शाक्यका लागि यो नयाँ व्यवसाय हो। यसैले चौधरी समूहसमेत साझेदार रहेकाले होटल परिसरमा अपार्टमेन्टसमेत विकास गर्न सहज हुने बताइएको छ।
चौधरी समूहको बहु-क्षेत्रका व्यवसाय संचालनको राम्रो अनुभव छ भने सन् १९७२ मा टेक्स्टाइल तथा अन्य उपभोग्य वस्तुहरुको आयात व्यापारबाट व्यवसायमा छिरेको एनई ग्रुपले म्यानुफ्याक्चरिङ, परियोजना विकास, अन्तर्राष्ट्रिय व्यापार, बैंकिङ तथा इन्योरेन्स र पर्यटन क्षेत्रमा लगानी विस्तार गरेको छ।
होटल परिसरमै अपार्टमेन्ट सञ्चालन भएका उदाहरण नेपाली रियल इस्टेट व्यवसायमा अहिलेसम्म दुईवटा मात्रै छन्। गोल्याण समूहले सोल्टीमोडमा निर्माण गरिरहेको आवासीय परियोजनामा अपार्टमेन्टसँगै ह्यात प्लेस होटल सञ्चालन हुनेछ।
यस्तै, सीई कन्स्ट्रक्सनले भैरहवामा निर्माण थालेको ‘द हब लुम्बिनी’ टाउनसिप परियोजनामा पनि अपार्टमेन्टसँगै संचालनमा ल्याइने विभिन्न परियोजनाहरुमा तारे होटलहरु पनि हुनेछन्। यीबाहेक नेपालमा अन्य कुनै पनि परियोजनामा एउटै परिसरभित्र अपार्टमेन्टसँगै होटल सञ्चालन भएका छैनन्। गोल्याण र सीई ग्रुपपछि होटल परिसरमै अपार्टमेन्ट परियोजना निर्माण गर्ने समिट समूह तेस्रो हुनेछ।
प्रतिक्रिया दिनुहोस्