विकल्प खोजेर भएपनि संसद्मा एमसीसी टेबल गर्ने प्रधानमन्त्री देउवाको तयारी

२६ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नीप्रसाद सापकोटाको विकल्प खोजेर भएपनि संसद्मा एमसीसी टेबल गर्ने तयारी गरेका छन्।

सत्ता सहयात्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एमसीसीमा तगारो बनेपछि देउवाले विकल्प खोजेर संसदबाट एमसीसी पारित गर्ने तयारी गरेको बालुवाटार स्रोतले बताएको छ। 

frontline

बुधबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक सभामुख सापकोटाले मंगलबार अबेर सूचना निकालेर  स्थगित गरेका थिए।

बुधबार नै बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी टेबल गर्न छलफल गर्ने तयारी भएको थियो।

संसद स्थगित भएपछि फेरी एक पटक प्रधानमन्त्रीले गठबन्धनको बैठकमा एमसीसीबारे निर्णायक छलफल गर्ने तयारी गरेका छन्।

एमसीसीबारे गठबन्धनबीच सहमति नजुटेपछि सभामुख सापकोटाले संसद स्थगित गरेका हुन्। सभामुख सापकोटाले सरकारको आग्रहमा बैठक स्थगित गरेको भनेका छन्।

अर्को बैठक फागुन २ का लागि तोकिएको छ। फागुन २ भित्र एमसीसीबारे गठबन्धन दलहरुबीच सहमति कायम भए सहजै एमसीसी टेबल हुनेछ।

‘सहमति कायम नभए प्रधानमन्त्री देउवाले अर्को विकल्प थाल्ने छन्, त्यो हो सभामुख हटाउने प्रक्रिया’ कांग्रेसका एक नेता भने।

सभामुखको विकल्प खोज्न एमाले र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले समेत साथ दिने प्रधानमन्त्रीसँग प्रतिबद्धता जनाइसकेको स्रोतले बताएको छ।

संघीय संसद्को दशौं अधिवशेन गत मंसिर २८ गतेदेखि सुरु भएको हो । चालु अधिवेशनको दुई बैठकमा पनि एमालेको अवरोधका बीच पनि संसद् कार्यसूचीमा प्रवेश गरेको छ ।

तर संसद्मा देखिएको अवरोध हटाउन सरकार र सभामुखले पहलकदमी लिएपनि त्यसले सार्थक रुप लिन सकेको छैन ।

संसद्को सबैभन्दा ठूलो दल एमालेले संसद्लाई प्रभावकारी बनाउन सभामुख तथा सरकारले बोलाएको सर्वदलीय बहिस्कार गरिरहेको छ ।

एमालेले आफूले कारबाही गरेको १४ सांसद पदमुक्त भएको सूचना समामुखले टाँस नगरेको जनाउँदै संसद् बैठक अवरुद्धदेखि सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख सापकोटालाई हटाउनु पर्ने र आफ्ना पार्टी छाडेर एकीकृत समावादी पार्टीमा गएका सांसदहरुलाई तत्काल हटाउनु पर्ने माग पटक-पटक राख्दै आएका छन्। 

नागरिक समाजका अगुवाहरुले समेत मंगलबार विज्ञप्ति निकालेर सभामुख सापकोटाले निष्पक्ष काम नगरेको भन्दै उनलाई हटाउन राजनीतिक दलहरुलाई आग्रह गरेका थिए।

विज्ञप्तिमा सापकोटा हत्यामा किटानी जाहेरी गरिएका आरोपित भएको र उनीविरुद्ध काभ्रे जिल्ला प्रहरीदेखि सर्वोच्च अदालतको संवैधानिक इजलास र नियमित इजलासमासमेत हत्या आरोप तथा अनैतिक आचरणसम्बन्धी गम्भीर उजुरी र मुद्दाहरू विचाराधीन रहेको स्मरण गराउँदै पदको दुरुपयोगबाट न्यायमा अवरोध गरेकाले पदबाट हट्नुपर्ने माग गरिएको छ ।  

‘अग्नि सापकोटा नैतिक रूपमा स्खलित, तटस्थ व्यवहार देखाउन सर्वथा असफल एवं वर्षौंदेखि हत्याको आरोप खेपिरहेका तथा प्रहरीको फरार सूचीमा रहेका व्यक्ति हुन् ।

यस्तो गम्भीर चारित्रिक कमजोरी भएका व्यक्तिबाट प्रतिनिधि सभाको सभामुख जस्तो गरिमामय पद अनुकूलको आचरण प्रस्तुत हुने सम्भावना थिएन र छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘निजलाई सभामुख पदमा निर्वाचित गरेयता प्रतिनिधि सभाको कार्यसम्पादनमा गम्भीर ह्रास आएको देखिन्छ ।

अत: अग्नि सापकोटालाई आफ्ना व्यवहार सच्याउन, कानुनी राज कायम गर्नका लागि नेपाल प्रहरीलाई मद्दत गर्न तथा आफ्ना गलत क्रियाकलापको आधार जनतासामु प्रस्तुत गर्न चुनौती पेश गर्दछौं ।’

एमसीसी मुख्यालयलाई पत्र लेखेपछि थप दबाबमा परेका प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनबीच सहमति गराएर एमसीसी पास गर्ने मनस्थितिमा छन्।

तर एमसीसी पारित गर्नेबारे प्रचण्ड र नेपाल तगारो बनिरहे विकल्प खोजेर एमसीसी पास गर्ने कांग्रेसका एक नेताले बताए।

मंगलबारै एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुख सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव पनि दर्ताको तयारी भइरहेको जानकारी दिएका थिए।

नेता बस्नेतले सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउन आफूहरु सय जना सांसद जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको पनि स्पष्ट पारेका छन् । 

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले मंगलबार बिहान बालकोट पुगी एमाले अध्यक्ष ओलीसँग एमसीसीबारे गम्भीर छलफल गरेका छन्।

लगत्तै नेपाली कांग्रेसका नेता शेखर कोइराला पनि बालकोट पुगेका थिए। अध्यक्ष ओली र नेता कोइरालाबीच एमसीसी, गठबन्धनको भविष्य र निर्वाचनका बारेमा छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here