हङकङमा थपियो तरकारी अभाव

२६ माघ, एजेन्सी । हङकङमा मंगलबार तरकारी आपूर्ति कम भइरहेको थियो, पसलेहरू पाइन्छ त्यही खरिद गर्न संघर्ष गरेका थिए । त्यहाँको सरकारले भने ‘मेनल्यान्ड’बाट ताजा उत्पादनको आपूर्तिमा भएको कमीका लागि कोभिड–१९ मा पुनः भएको वृद्धिलाई जिम्मेवार ठहराएको छ ।

सोमबार ६०० भन्दा बढी संक्रमित भएपछि हङकङकी नेतृ क्यारी ल्याम थप प्रतिबन्ध लगाउने घोषणा गर्दै थिइन् । प्रसारक टीभीबीकाअनुसार मंगलबार कम्तीमा ३ सय ८० संक्रमित भएका पुष्टि भएको छ ।

frontline

नेतृ क्यारी ल्यामले तरकारी आपूर्ति गर्ने ट्रक चालकहरूलाई कोभिड संक्रमण भएकाले तरकारी अभाव भएको बताएकी छन् । साप्ताहिक न्युज ब्रिफिङमा ल्यामले अभाव समाधान गर्न कुनै विशेष समाधान प्रस्ताव भने नगरेको रोयटर्सले जनाएको छ ।

प्रकोप नियन्त्रण गर्न अहिलेका लागि मुख्यभूमि चीनले प्रयोग गरेको ‘डाइनामिक जिरो’ रणनीतिको पालना गर्नु नै उत्तम हुने उनको भनाइ छ ।

हङकङको एउटा बजारकी एक कर्मचारीले तरकारी किनमेल गर्नेहरूको ठेलमठेल युद्धमैदान जस्तै भएको बताएकी छन् ।

केही तरकारी तथा फलफूल पसलहरूमा मुख्यभूमि चिनियाँ उत्पादनहरू बेच्न बन्द गरिएको थियो भने अरूले तिनीहरूको सामान्य भन्दा दोब्बर मूल्यमा बिक्री गरिरहेका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको आधिकारीक समाचारपत्र पिपल्स डेलीले चिनियाँ उपाय अपनाउन प्रोत्साहित गरेको छ ।

कडा नीतिले एक्लिएको हङकङ

कोरोना भाइरस सम्बन्धी कडा नीतिहरूले गर्दा कुनै समय विश्वको शीर्ष यात्रा एवं व्यावसायिक हव (केन्द्र) हङकङलाई विश्वका अधिकांश प्रमुख सहरहरूबाट एक्ल्याएको छ ।

कट्टरपन्थी दृष्टिकोणबाट आर्थिक र मनोवैज्ञानिक ‘टोल’ द्रुत रूपमा बढ्दै गएको छ । सन् २०२० मा महामारीको सुरुवातमा लागू गरिएका उपायहरू बढी कठोर बन्दै गएको छ ।

उडानहरू ९० प्रतिशतसम्म कम भएका छन्, विद्यालय, खेलमैदान, जिमका साथै अरू अधिकांश स्थलहरू बन्द छन् । रेस्टुरेन्टहरू साँझ ६ बजे बन्द हुन्छन् । जबकि अधिकांश निजामती कर्मचारीहरू सहित अधिकांश मानिसहरू घरबाट काम गरिरहेका छन् ।

सरकारी क्वारेन्टिन सुविधाहरू पनि उनीहरूको अधिकतम सेवा उपलब्ध गराउन सक्ने अवस्थाको नजिक पुगेका छन् । अधिकारीहरू कडा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई जारी राख्न संघर्ष गरिरहेका छन् ।

धेरै स्वास्थ्य विज्ञहरूले बाँकी विश्व कोरोना भाइरससँगै जिउने योजनातर्फ अघि बढ्दा आफैँलाई बन्द गर्ने रणनीति दीगो नहुने बताउँछन् ।

डाक्टरहरू मानसिक स्वास्थ्यले ग्रसित बनाइरहेको बताउँछन् । यसबाट विशेष गरी कम आय भएका परिवार वा प्रतिबन्धका कारण विद्यालय जान नसकेका बालबालिका बढी प्रभावित छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here