चन्द्रागिरि घुम्न गएको बेला हराएका पाँच सदस्यको उद्धार
२४ माघ, काठमाडौं । चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले मध्यराति उद्धार गरेको छ ।
हिउँ खेल्न गएर फर्किने क्रममा जंगलको बाटोमा हराएका चन्द्रागिरि नगरपालिका-६ का २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य गुरूङ, १३ वर्षीय सहज गुरूङ, ११ वर्षीया जेनिसा गुरूङ र ७ वर्षीय एनवीन गुरूङलाई उद्धार गरिएको प्रहरीले जनाएको छ।
उनीहरू सबै सकुशल रहेका थानकोट प्रहरीका इन्सपेक्टर रामप्रसाद सापकोटाले जानकारी दिए ।
प्रहरीका अनुसार उनीहरूले आफूहरूले बाटो भूलेको भनेर राति साढे आठ बजे घरमा खबर गरेका थिए । घरका अरु सदस्यहरूले प्रहरीमा जानकारी गराएपछि प्रहरी टोली परिचालित भएको थियो । खोजीमा विपद व्यवस्थापन गुल्म सामाखुसीका सदस्यहरूसमेत थिए ।
प्रतिक्रिया दिनुहोस्