ललितपुरको थेंचोमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव भेटियो
२० माघ, काठमाडौं । ललितपुरको थेंचोमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ ।
गोदावरी नगरपालिका–१२, थेंचोस्थित एउटा घरको पछाडिपट्टि गाडिएको अवस्थामा तेह्रथुमका मोहन लिम्बुको शव भेटिएको हो । करिव ५ फिट गहिरो खाल्डोमा गाडिएको शव गलाउन २५/३० प्याकेट नुन समेत हालेको भेटिएको छ ।
मोरङको धनपालथान गाउँपालिका–२ को उखुबारीमा गत माघ १३ र १४ गते दुई जनाको शव गाडिएको अवस्थामा भेटिएको थियो । सो घटनाको अनुसन्धानका क्रममा अपराध अनुसन्धान महाशाखाले अनिल मण्डललाई पक्राउ गरेको थियो ।
उनको बयानका आधारमा प्रहरीले थेंचोमा प्रमिश थापा मगरको घर पछाडि खोजी गर्दा गाडिएको अवस्थामा लिम्बुको शव फेला परेको एसएसपी बसन्तबहादुर कुँवरले बताए । लिम्बुको घाँटीमा नाइलनको डोरी कसेर हत्या गरेको पाइएको छ ।
गोदावरी नगरपालिका–१२ कि वडासदस्य शोभा कार्कीका अनुसार यो घरमा लामो समय प्रि–प्राइमरी स्कुल थियो ।
तर लकडाउनपछि स्कुलले छाडेको यो घर अनिल मण्डलसहितको समूहले करिव ३ महिनाअघि भाडामा लिएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा खुलेअनुसार मोरङको धनपालथान गाउँपालिका–२ को उखुबारीमा गाडिएको अवस्थामा शव भेटिएका राजेन्द्रकुमार श्रेष्ठ र शम्भु चौधरीका साथै थेचोमा शव भेटिएका लिम्बुले अनिलसँग मिलेर जग्गा कारोबार गर्दै आएका थिए ।
लेनदेनकै विवादका क्रममा तीन जनाको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीका अनुसार अनिल मण्डल २८ मंसिरसम्म थेंचोमा देखिएका छन् । यहाँ लिम्बुको हत्या गरेर मोरङमा गएको र श्रेष्ठ र चौधरीको हत्या गरेको हुनसक्ने अनुसन्धान अधिकृतहरुको आशंका छ ।
प्रतिक्रिया दिनुहोस्