६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको ‘बुस्टर’ डोज दिन सुरु
१५ माघ, काठमाडौं । सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप लगाएको छ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको जानकारी दिए ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिस्तरीय बैठकको निर्णयअनुसार ७७ जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयलाई खोप लगाउनका लागि पत्र पठाएको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्ट अन इमुनाइजेसनको यही माघ ७ गते र राष्ट्रिय खोप सल्लाहकार समितिको माघ १२ गतेको सिफारिसका आधारमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालेको हो ।
बुस्टर डोजअन्तर्गत पहिलो र दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल लगाएकालाई कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिने, पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा दिन सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनिका दिन मन्त्रालयले पत्राचार गरेको छ ।
यस्तै विदेशमा पहिलो मात्रा कोभिसिल्ड, अस्ट्राजेनिका, भेरोसेल, मोडर्ना, फाइजर खोप लगाएकाको हकमा दोस्रो मात्राका रुपमा कोभिसिल्ड, अस्ट्राजेनिका खोप प्रदान गर्नसमेत अनुरोध गरिएको छ ।
मन्त्रालयले माघ २ गतदेखि पहिलो चरणमा अग्रपंक्तिमा काम गर्नेलाई बुस्टर डोज प्रदान गरेको थियो । अहिलेसम्म बुस्टर डोज दुई लाख ९९ हजार नौ जनालाई लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्