उखुबारीमा शंकास्पद दुई खाल्डा, एउटामा शव फेला, अर्काे उत्खनन गरिंदै

१३ माघ, विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकै रहेको उखुबारीमा शंकास्पद दुईवटा खाल्डामध्ये एउटामा पुरुषको शव फेला परेको छ । अर्को खाल्डोमा प्रहरीले उत्खनन गर्दै छ ।

बुधबार उखु काट्न पुगेका किसानले उखुबारी भित्र खाल्डो खनेर केही पुरेको जस्तो शंकास्पद अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए । साेही दिन बेलुका उत्खनन् गरेको प्रहरीले अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला पारेको हो ।

frontline

लगाएको कपडासहित गाडिएको अवस्थामा फेला परेका पुरुषको पहिचान नभएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले मृतकको पहिचान गर्ने प्रयास पनि गरिरहेको छ ।

करिब पाँच फिट गहिरो खाल्डोबाट निकालिएको शवको अनुहार पहिचान गर्न नसक्ने अवस्थामा छ । शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुनसक्ने प्रहरीले बताएको छ ।

शव उत्खनन गरेको स्थान नजिकै शंकास्पद अर्काे खाल्डो पनि फेला परेको छ । शव गाडेको आशंकामा प्रहरीले सो खाल्डो पनि उत्खनन गर्ने तयारी गरेको डिएसपी श्रेष्ठले बताए ।

प्रहरीका अनुसार बुधबार उत्खनन गरिएको खाल्डो भन्दा करिब २० मिटर टाढा उखुबारी भित्रै खाल्डो भेटिएको हो ।

प्रहरीले सो खाल्डो उत्खनन गर्ने तयारी गरिरहेको धनपालथान गाउँपालिका–७ का वडा अध्यक्ष  हरिप्रसाद यादवले बताए ।

उनका अनुसार त्यो खाल्डोमा पनि शव हुनसक्ने आशंकामा उत्खनन गर्न लागिएको हो ।

खाल्डो उत्खननका लागि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीसहितको टोली घटनास्थलमा छ ।

‘बुधबार शव निकालिएको खाल्डो नजिकै खाल्डो खनेर पुरेको जस्तो माटो देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘ढिलो सूचना आएका कारण हिजो एउटा मात्रै उत्खनन गरियो, आज अर्काे उत्खनन गर्ने तयारी छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here