नेपाली बजारमा सिटामोल अभाव, बार्षिक ७ करोड चक्की पारासिटामोलको माग
१२ माघ, काठमाडौं । ज्वरो आयो, सिटामोल ! टाउको दुख्यो ? सिटामोल ! कोरोना महामारीकालमा झन् सिटामोलको महत्व बढेको छ ।
ओमिक्रोन भेरियन्टका कारण कोरोना महामारीको तेस्रो लहर चलिरहेका बेला नेपाली बजारमा सिटामोल अभाव देखिएको छ ।
नेपाल औषधि उत्पादक संघका अनुसार नेपाली बजारमा बार्षिक करिब ७ करोड चक्की पारासिटामोलको माग हुने गरेको छ ।
अहिले कोरोनाकालमा घरघरमा औषधि सञ्चय गर्ने भएकाले पनि सिटामोलको माग बढेको छ ।
यद्यपि नेपालमा खपत हुनेमध्ये झण्डै ९९ प्रतिशत सिटामोल नेपाली औषधि उद्योगहरुले नै पूर्ति गर्दै आएको संघले बताएको छ ।
संघका अनुसार नेपाल औषधि लिमिटेड बाहेककै स्वदेशी उद्योगहरुले पुस महिनामा ५०० मिलिग्रामको करिव ४३ लाख पारासिटामोलको चक्की बजारमा पठाएका छन् ।
माघ महिनाको दोस्रो सातामा ३५ लाख पठाइनेछ भने महिनाको अन्त्यसम्म अर्को ३५ लाख गरी ७० लाख चक्की बजारमा पठाउने लक्ष लिइएको संघले बताएको छ ।
२०७८ साल माघ १० को तथ्यांकअनुसार उद्योगहरुमा पारासिटामोल चक्की र यसको कच्चा पदार्थको मौज्दात सन्तोषजनक अवस्थामा छ ।
विश्व बजारमा कच्चापदार्थको मूल्य अत्याधिक बढेको भएपनि उपलब्धता रहेकाले आत्तिने अवस्था छैन, औषधि उत्पादक संघले भनेको छ, ‘हालको परिस्थितिमा कुनै पनि औषधिको अभाव नभएको अवगत गराउन चाहन्छौं ।’
प्रतिक्रिया दिनुहोस्