प्रहरीको मोटरसाइकल लिएर भागेका कैदी यमराज परियार पक्राउ
१० माघ, दाङ । घोराही कारागारबाट गत पुस ८ गते भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरीले कार्यालय दाङले पक्राउ परियारका बारेमा जानकारी दिन सोमबार ४ बजे कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले भारतीय सीमावर्ति क्षेत्रबाट समातेको बताइएको छ ।
कारागारका नाईकेसमेत रहेका यामराज भागेको प्रकरणमा कारागारका जेलर युवराज परियारलाई केही दिन हिरासतमा राखेर अनुसन्धान गरिए पनि कारागार विभागले अनुमति नदिएपछि पुस १६ गते नै छुटिसकेका छन् ।
छालाको उपचार गर्न भनी कारागारका नाइके कैदी यामराजलाई प्रहरी जवान धनबहादुर चौधरीले पुस ८ गते दिउँसो लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर अस्पताल हिडेका थिए ।
तर, उनीहरू अस्पताल नगई होटलमा पुगेको र त्यहीबाट भागेका थिए । प्रहरी र कैदीले घोराहीकै थकाली होटलमा दुईजना महिलालाई लिएर गएको अनुसन्धानबाट खुलेको थियो ।
कैदी परियारले प्रहरी जवानलाई आफ्नो प्रेमिकासहित होटलको कोठामा थुनेर भागेको प्रहरी अनुसन्धानले देखाएको थियो ।
फरार प्रकरणमा प्रहरी जवान चौधरी र तुलसीपुर उपमहानगरपालिका-१० की २२ वर्षीया समी चौधरी पुर्पक्षका जेल चलान भइसकेका छन्।
त्यस्तै घोराही कारागारका सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरी १० हजार र प्रहरी हवल्दार गणेशकुमार थारु पाँच हजार धरौटीमा छुटेका छन् ।
सो प्रकरणमा युवतीलगायत होटलको समेत व्यवस्थापनको काम गरेको आरोपमा घोराहीका सौजन्य खनाल र घोराही उपमहानगरपालिका-१६ की विपाशा चौधरीलाई अदालतले साधारण तारेखमा छोड्न आदेश भएको थियो ।
प्रतिक्रिया दिनुहोस्