वर्षौंदेखि झर्दैछ पहिरो, ३४ परिवारको घर पहिरोको जोखिममा

श्रोत : ईन्टरनेट

९ माघ, रामेछाप । लिखु तामाकोशी ६ खिम्तीको केउरीनी बिर्ताका दीपक श्रेष्ठको घर निर्माण पूरा हुन नपाउँदै पहिरोको निसानामा परेको छ ।

गाउँ पूरै घेरेर पहिरो चलिरहेको ठाउँमा २०७२ को विनासकारी भूकम्पपछिको पुनर्निर्माण गर्ने क्रममा श्रेष्ठले घर हालेका थिए ।

frontline

अहिले उनको घर झर्न थालिसकेको छ । जवकि श्रेष्ठको घर पूरै तयारी गर्न बाँकी नै छ । पहिरोको जोखिममा भएको लगानी अब सदुपयोग नहुने चिन्ताले बाँकी रहेको काम गर्ने कि नगर्ने भन्नेमा श्रेष्ठ अन्योलमा छन् ।

झ्याल, ढोका र प्लास्टरको काम नै बाँकी रहेको बेला उनलाई यस्तो विपद् आइलागेको हो । केउरीनी बिर्ताका श्रेष्ठको मात्र हैन, ३४ परिवारको घरमा पहिरोका कारण धाजा फाटेको छ । पहिरोले थाहै नपाउने गरी बस्ती नै सरिरहेको स्थानीय गणेश बहादुर श्रेष्ठ बताउँछन् ।

माथिल्लो कान्लामा रोपिएका रुख बिरुवाहरू तल्लो कान्लामा पुगेका छन् । एउटै गह्रो जमिन दुइटा गह्रो झैं तल र माथि भएका छन् । धेरै ठाउँमा धाँजा फाटेको स्थानीयहरू बताउँछन् । ‘

जमिन फुटेको र सरेको थाहा पाएर पनि जोखिममा बस्नु परेको छ’ श्रेष्ठले भने ‘अन्यत्र जग्गा जमिन नभएको र किनेर जाँदा कृषि तथा पशुपालनको समस्या हुने भएकाले पहिरोले घेरा हालेको क्षेत्रमै ४० परिवारको बसोबास छ ।

केउरीनीमा २०५१ सालदेखि नै पहिरोले गाउँ धस्सिएर बगेको स्थानीयहरू बताउँछन् । त्यसयता हरेक वर्ष जमिनको केही न केही भाग झरिरहेको उनीहरूको भनाइ छ ।

गाउँभन्दा तल तिल्पुङ्ग खोला तर्फबाट झरेको पहिरोले माथिको जमिन तानिरहेको स्थानीय दुर्गाबहादुर श्रेष्ठको भनाइ छ । श्रेष्ठ भन्छन्, ‘जहाँबाट पहिरो बग्न थाल्यो त्याहाँ नियन्त्रणको उपाय नै छैन श्रेष्ठ । कुन दिन लिदीको हालत बन्ने हो ? टुंगो छैन ।’

वर्षा याममा स्थानीयहरु हरेक दिन आफ्नो घर र आँगनको चिरा जाँच गर्छन् । ‘आज यति बढेछ र भोलि यति भएछ भन्दै यतिका वर्ष बिते ’ बिर्ताका चक्रबहादुर श्रेष्ठ भन्छन् ‘सधैँ जोखिममा बसेर आधा मासु हुनुभन्दा बाहिरै गएर बस्नु राम्रो ।’

चक्रबहादुर श्रेष्ठसहित ६ परिवारले भने गत वर्ष नै सुरक्षित स्थानमा जग्गा खोजेर बासस्थान सारेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिमा पनि खिम्तीको केउरीनी बिर्ता गाउँ जोखिममा परेकोबारे हरेक वर्ष चर्चा हुने गरेको छ । तर स्थानीय बासिन्दालाई स्थानान्तरण गर्ने विषयमा हालसम्म कुनै निर्णय भएको छैन ।

आफूखुसी थातथलो छोडेर हिँड्ने बाहेक राज्यले अन्यलाई विपद्जन्य स्थानबाट हट्नका लागि सूचनासम्म दिएको छैन । प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडी शुक्रबार केउरीनी बिर्ताको पहिरो प्रभावित गाउँमा पुगे ।

धसिएको र जताततै धाँजा देखेपछि भने पहाडीले स्थानीय जनप्रतिनिधिलाई सुरक्षित जग्गा खोजीका लागि आग्रह गरेका छन् ।

‘गफ गरेर र पहिरो देखाएर मात्र सुरक्षित भइँदैन । तपाइँहरू सबै जोखिम क्षेत्रबाट बाहिर जान मञ्जुर भई जग्गाको खोजी गरेर आउनुस्, सरकारले बस्ती विकासका लागि पहल गर्छ,’ पहाडीले भने ।

पहाडी सँगै पहिरो क्षेत्रमा पुगेका सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका आयोजना प्रमुख सुरेशकुमार वाग्लेले सरकारले विपद्‍मा परेका परिवारलाई सुरक्षित स्थानमा बसोबास गराउन कार्यक्रम संचालन गर्दैआएको बताए ।

उनले जग्गाको पहिचान र जोखिम क्षेत्रबाट उठ्नका लागि स्थानीयहरू राजी भएर आएमा नेपाल सरकारसँग कार्यक्रम माग गर्ने आश्वासन दिए ।

केउरीनी बिर्ता नजिकै सुरक्षित स्थानमा जग्गा दिन स्थानीय राजी छन् । वडा अध्यक्ष शिवप्रसाद न्यौपानेले अव करिव ४० परिवारका लागि पुग्ने जग्गा व्यवस्थापन गर्न स्थानीय सरकारले प्राथमिकता दिएर काम गर्ने वताए ।

उनले खिम्तीमा अन्य ३४ परिवारहरु जोखिम क्षेत्रमा वसोवास गर्दै आएको वताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here