नयाँ प्रमुख प्रशासकीय अधिकृत पाल हाजिर भएपछि बारागढी गाउँपालिकामा विवाद

७ माघ, वीरगञ्ज । बारा जिल्लाको बारागढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत वकिल पाल हाजिर भएपछि विवाद उत्पन्न भएको छ ।

यही माघ ४ गते राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंबाट सरुवा भई बारागढी आएका प्रमुख प्रशासकीय अधिकृत पाललाई गाउँपालिकाले हाजिर गराउन नमानेपछि उपाध्यक्षले जबरजस्ती हाजिर गराएका थिए । उक्त घटनासँगै स्थानीयहरुले बिहीबार पालिकामा विरोध प्रदर्शन गरेका हुन्।

frontline

प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिरहेका आमोद चौधरीले कार्यभार सम्हाली रहेको अवस्थामा विभिन्न पार्टीबीच गुटउपगुटको कारण नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएसँगै पालिकामा विवाद उत्पन्न भएको हो ।

विगत दुई वर्षदेखि पालिकाको कार्यभार सम्हाल्दै आएका प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीलाई मन्त्रालयले सरुवा गरेपनि औपचारिक पत्र आएन ।

त्यसपछि नेपाली काँग्रेस निकट पालिका अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले उनलाई जान नदिएको र संघीय समाजवादी पार्टी निकट उपाध्यक्ष लक्ष्मी देवी रायको सक्रियतामा राष्ट्रिय सतर्कता केन्द्र सिंह दरबारबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत वकिल पाललाई उपाध्यक्ष आफैले नयाँ रजिष्टर किनेर हाजिर गराएपछि स्थानीयहरु आक्रोशित भई पालिकामा विरोध प्रदर्शन गरेका थिए ।

अधिकृत आमोद चौधरीले पालिकामा उत्कृष्ट काम गरेको हुनाले विपक्षी दलका नेता कार्यकर्ताहरुले विकास निर्माणको कामलाई भाड्नका लागि आफ्नो पार्टी निकट अधिकृतलाई सरुवा गराएर ल्याएकोले हामीलाई राजनीति भन्दा पनि काम गर्ने कर्मचारी चाहिएको स्थानीयहरुको भनाई छ ।

उनीहरुको अनुसार विगत दुई आर्थिक वर्षदेखि कार्यभार सम्हाल्दै आएको अधिकृत आमोद चौधरीले कम्तिमा यस आर्थिक मसान्तसम्म बसेर यहाँको अधुरा विकास निर्माणका कार्यहरुलाई पूरा गरेर मात्रै जानुपर्ने उनीहरुको भनाई छ ।

अधकिृत चौधरीले बारागढी गाउँपालिकामा स्वास्थ्य, शिक्षा, कृषि, सडक लगायत विभिन्न भौतिक पूर्वाधारहरु निर्माण गरेका छन् । कतिपय योजनाहरु अहिलेपनि संचालन नै रहेकोले ती अधुरा कामहरु पूरा गरेर मात्रै जानुपर्ने जनप्रतिनिधिहरुले भन्दा भन्दै विपक्षी दलका नेताहरुले कर्मचारीमाथि फोहरी राजनीति गर्न खोजेकोले यस आर्थिक मसान्तसम्म भएपनि अधिकृत चौधरी नै रहनुपर्ने स्थानीयहरुको माग रहेको छ ।

नयाँ अधिकृत पाल जबरजस्ती हाजिर भएपछि आक्रोशित स्थानीयहरुले विरोध प्रदर्शन गरेको कारण पालिकाको कामकाज प्रभावित बनेको छ । उनी हाजिर हुने दिनदेखि नै पालिकामा पार्टीका कार्यकर्ताहरुको भीडभाड लागेपछि कामकाज प्रभावित बनेको छ ।

माघ ४ गतेदेखि नै पालिकाको काम ठप्प रहेको छ । मंगलबार र बुधबार सार्वजनिक विदा रहेको अवस्थामा बिहीबार कार्यालयमा कर्मचारीहरु उपस्थित भएपनि काम केही हुन सकेको छैन ।

पालिकामा अहिले त्यही राजनीतिको रोटी सेक्ने विषय बनेको छ । अधिकृत पाल जबरजस्ती हाजिर भएपछि अन्य कर्मचारीहरु पनि असन्तुष्ट छन् ।

अधिकृत चौधरी पालिकामा काम गरि रहेकै अवस्थामा नयाँ अधिकृत पाल हाजिर भएपछि स्थानीयहरु विरोध प्रदर्शन गर्दै पालिका अध्यक्ष देवदत्त बछारलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापन पत्र बुझाउँदै स्थानीयहरुले राजनीतिक स्वार्थ र गलत मनसायले विभिन्न राजनीतिक व्यक्तित्वहरुको अगुवाईमा पालिका उपाध्यक्ष लक्ष्मी देवी रायले अधिकृत चौधरीको सरुवा गराई पालिकाको अध्यक्ष सहित बहुमत कार्यपालिका सदस्यहरुको जानकारी विना नै नयाँ अधिकृत वकिल पाललाई उपस्थित गराई विभिन्न उत्श्रृङ्खल र अमर्यादित कार्य गराएको आरोप लगाएका छन् ।

यहाँसम्म कि उपाध्यक्ष रायले आफू अनुकुल प्रमुख प्रशासकीय अधिकृत ल्याई फोहरी राजनीति गर्न खोजेको हुनाले यस कार्यको घोर भत्सर्ना गर्दै विकास गर्ने पहिलाकै अधिकृत अमोद चौधरी नै रहनुपर्ने माग गरेका छन् ।

मन्त्रालयले अधिकृत आमोद चौधरीको सरुवा गरेपनि पालिकामा हालसम्म आधिकारिक पत्र नआएको पालिका अध्यक्ष देवदत्त बछारको भनाई छ ।

उनका अनुसार अधिकृत चौधरी काम गरि रहेको अवस्थामा अचानक नयाँ अधिकृत आफू सरुवा भई यहाँ हाजिर हुन आएको भनेपछि बोर्ड बैठकबाट निर्णय गरेर २ दिनमा निष्कर्ष निकाली हाजिर गराउन भनेपनि अधिकृत पालले उपाध्यक्ष सहित संघीय समाजवादी पार्टीका कार्यकर्ता सहितको भीड ल्याई जबरजस्ती उपस्थित भएको बताए ।

हाल काम गरि रहेको अधिकृत चौधरीको सरुवा भएको आधिकारिक पत्र आएको छैन, तर नयाँ अधिकृत हाजिर हुन आइसके, एउटा पालिकामा दुईवटा अधिकृत कसरी हुन्छ ? तपाईलाई दुई तीन दिनपछि उपस्थित गराईन्छ भन्दा पनि अधिकृत पाल जबरजस्ती हाजिर भई अधिकृतको कार्यभार गरि रहेका छन् तर हालसम्म हामीले उनीसँग काम नगराएको बताए ।

स्थानीयहरुले पहिलाकै अधिकृत चाहिन्छ भनेर विरोध प्रदर्शन गरिरहेका छन् । पालिकाका बोर्डका बहुमत सदस्यहरुले पनि नयाँ अधिकृत पाललाई हाजिर नगराउने भनेर भन्दा पनि अधिकृत पाल राजनीति आडमा जबरजस्ती कार्यालयमा आएर हाजिर भएको अध्यक्ष बछारको भनाई छ ।

पहिलाकै अधिकृत चौधरीले गरेको उत्कृष्ट कामले स्थानीयहरु खुसी थिए । विकास निर्माणका कामहरु पनि अग्रपँक्तिमा रहेको भन्दै महा लेखा परीक्षकको कार्यालयले पनि यस वर्ष बेरुजुमा बारा जिल्लामा सबैभन्दा कम बेरुजु भई उत्कृष्ट गाउँपालिकाको रुपमा घोषणा गरेको थियो । कार्यशैली पारदर्शि रहेको स्थानीयको बुझाइ छ ।

केही व्यक्तिहरुले आफ्नो राजनीति स्वार्थ पूरा गर्न एवं विकास निर्माणको कार्यलाई भाँड्नका लागि कार्यपालिका सदस्यको जानकारी विना नै अधिकृतको सरुवा गराएको अध्यक्ष बछाराले आरोप लगाए ।

त्यस्तै औपचारिक पत्र नआएको र मन्त्रालयले पनि उनको सरुवा रोक्काको मौखिक जानकारी दिएको नयाँ अधिकृतलाई हाजिर नगराएको अध्यक्ष बछारको भनाई छ ।

यसबारे यही माघ ४ गते बारागढी गाउँपालिका कार्यालयमा हाजिर भएका अधिकृत वकिल पालले आफू नियम संगत यस कार्यालयमा हाजिर भएको बताए ।

उनका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पुस २३ गतेको चलानी नं ६२२ को पत्र अनुसार आफूलाई यस बारागढीको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यभार सम्हाल्न पठाएको हुनाले आफू नियम संगत हाजिर भएको बताए । जबरजस्ती हाजिर भएको कुरामा सत्यता नरहेको भन्दै अधिकृत पालले आफू जनप्रतिनिधिहरुकै रोहबरमा हाजिर भएको बताए ।

पालिकामा हालीमुहाली चलाउन प्रयास गर्दै

जबरजस्ती गाउँपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत वकिल पालले आएदेखि नै कार्यालयमा हाली मुहाली चलाउने प्रयास गरि रहेका छन् ।

पालिका अध्यक्ष लगायत कार्यपालिकाले औपचारिक रुपमा हाजिर नगराएकै अवस्थामा अधिकृत पाल आफै हाजिर भई त्यहाँका कर्मचारीहरुमाथि आफ्नो शासन लाद्ने प्रयास गरेको पाइएको छ ।

पालिकामा विभिन्न शाखाहरु छुट्याएर शाखा प्रमुखलाई जिम्मेवारी दिइएकोमा भेटनरी शाखाले निकालको सूचनामा शाखा प्रमुखले हस्ताक्षर गरेर सूचना निकालेपछि अधिकृत पालले शाखा प्रमुखलाई बोलाएर आफ्नो हैसियत हेरेर मात्रै हस्ताक्षर गर्ने गर्नु जस्ता शासन लाद्ने प्रयास गरेका छन् ।

अधिकृत पालले एकजनालाई मात्रै होइन, त्यहाँ कार्यरत अन्य अधिकृत दर्जाका कर्मचारीहरुमाथि पनि आफ्नो हाली मुहाली लाद्ने प्रयास गरेको कर्मचारीहरुको भनाई छ ।

बोर्डका सदस्यहरुले पाललाई हाजिर नगराउने निर्णय नै गरेपनि आफै औपचारिकता नपाएका अधिकृतले अन्य कर्मचारीहरुसँग जबरजस्ती औपचारिक हस्ताक्षर खोजविन गरि रहेको बताइएको छ ।

अधिकृत पाल हालसम्म आफै औपचारिक रजिष्टरमा हस्ताक्षर गरेका छैनन् । कार्यपालिकाले उनीसँग कुनै किसिमको कामकाज गराएको छैन ।

उनी दिनभरि प्रमुख प्रशासकीय अधिकृतको केबिनमा बसेर साँझ फर्किन्छन् । राजनीतिको आडमा जबरजस्ती काम गर्न खोज्ने अधिकृत पाल आफै नेपाल सरकारको प्रतिनिधि भएको हुनाले राजनीतिको चेपुवामा नपरेकै बेस हुन्थ्यो तर उनी केही राजनीतिक दलका व्यक्तिहरुको बहकावमा प्रयोग भइरहेको स्थानीयहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here