गेउरिया पुल निर्माणमा ढिलाइ, आगो निभाउन गएको दमकल खोलामै पल्टियो

श्रोत : ईन्टरनेट

७ माघ, विराटनगर । मोरङको कानेपोखरी-२ (दर्बेसा र केराउन जोड्ने) मा रहेको गेउरिया खोलाको पुल निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाहीको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ।

गेउरिया खोलाको पुल निर्माण दुई वर्षमा सम्पन्न गर्ने गरी २०७१ साल कात्तिकमा सम्झौता भएको थियो।

frontline

तर, अहिलेसम्म पुल सम्पन्न भएको छैन। हाल ७० प्रतिशत काम भएपछि निर्माण कम्पनीले बिना कारण काम रोकेको स्थानीयले बताएका छन्।

‘दुई वर्षभित्र सक्ने गरी सम्झौता भए पनि सात वर्ष बितिसक्दा पुल निर्माण हुन सकेको छैन, पुल नहुँदा उक्त ठाउँमा सर्वसाधरण आवतजावतमा समस्या छ,’ जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमा उल्लेख छ, ‘गत बुधबार राति आगो निभाउन हिँडेको दमकल खोला तर्ने क्रममा त्यहीँ पल्टिएको थियो।

सो स्थानमा यसखालका सवारी साधन पल्टिने, दुर्घटना हुने क्रम लामो समयदेखि निरन्तर जारी छ। यसको सम्पूर्ण कारण भनेको पुल नहुनु नै हो।’

पुल नबनाउँदा भइरहेको क्षतिको जिम्मेवारी निर्माण कम्पनीले लिनुपर्ने बताउँदै निवेदकमध्येका राजेन्द्रकुमार मण्डलले पुल निर्माणमा लापरबाही गर्नेलाई कारबाही गर्नुपर्ने बताए।

‘आवश्यक छानबिन गरी दोषी उपर कारबाही गर्न तथा छिटोभन्दा छिटो पुल निर्माणको लागि पहल गरिदिन हामीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हौं,’ मण्डलले भने।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले निर्माण कम्पनीका सञ्चालक सराजुद्धिन अन्सारीलाई बोलाएर जवाफ माग गर्ने बताए।

‘हामीले जिल्ला प्रशासन कार्यालयमा यस विषयमा छलफल गरेका छौं,’ तिम्सिनाले भने, ‘कानुन अनुसार सरकारले प्रक्रिया अगाडि बढाउँछ, त्यहाँ पुल नहुँदा समस्या छ, म पनि त्यस ठाउँबाट ओहोरदोहोर गरेको छु।’

पुल निर्माण नहुँदा सर्वसाधारणलाई आवतजावत सहज बनाउन निर्माण कम्पनीलाई तुरून्त निर्देशन दिइने पनि तिम्सिनाले बताए।

पुल निर्माणको लागि भुटाहा सुनसरीको फ्युचर र सराउद्धिन निर्माण सेवाले संयुक्त रुपमा ठेक्का पाएका थिए।

एक करोड १८ लाखमा पुल निर्माणको सम्झौता भएर ५७ लाख रूपैयाँ भुक्तानी पनि लगिसकेको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय इटहरी अन्तर्गतको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ।

निर्माण कम्पनीका संचालक सराजुद्धिन अन्सारीलाई पटक-पटक ताकेदा गर्दा पनि काम नभएको सडक डिभिजन कार्यालयको भनाइ छ।

‘विश्वास गर्नै गाह्रो भइसक्यो, दसैं अगाडिदेखि नै काम गर्न भन्दा पनि दसैंपछि, तिहारपछि, छैठपछि, एक हप्तापछि भन्दै ढाँट्दै आउनुभएको छ,’ सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख इन्जिनियर सुदर्शन कार्कीले भने, ‘हामीले आज मात्रै कार्यालयमा बोलाएर कारबाहीको चेतावनी दिएका छौं, उहाँले आउँदो आइतबार, सोमबारदेखि काम गर्छु भन्नुभएको छ।’

यता, निर्माण कम्पनीका सञ्चालक अन्सारीले आफूले पुल निर्माणको लागि अढाइ करोड खर्च गरिसकेको बताए।

पुल ढिलो निर्माण हुनुमा पिलर निर्माण गर्ने क्रममा अत्यधिक पानी रहेको कारण खर्च बढेको उनले बताए।

आफूले काम सम्पन्न गर्ने उनले बताए। ‘दुई चार दिनपछि म काम सुरू गर्छु,’ उनले भने, ‘अहिले बिरामी भएर हो।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here