अझै ध्यान नदिने हो भने वीरगन्ज पहिलो र दोश्रो लहर भन्दापनि चिन्ताजनक अवस्थामा पुग्छ : डाक्टर सिंह

५ माघ, वीरगन्ज ।  पर्सामा पछिल्लो हप्तादेखि कोरोना संक्रमण दर निरन्त बढ्दै गएको छ। भारतसंग खुल्ला सीमा जोडिएको पर्सा जिल्लामा एकहप्ता यता निरन्तर संक्रमणदर ६० प्रतिशत भन्दाबढी नै देखिएको छ।

पर्सामा कोरोनाको परिक्षण वीरगन्ज नाका र नारायणी अस्पतालगरी दुई स्थानमा हुँदै आएको छ। नारायणी अस्पतालको प्रयोगशालामा हुँदै आएको पीसीआर परिक्षणमा संक्रमण दर ६५ प्रतिशतभन्दा बढी नै रहेको प्रयोगशाला प्रमुख सुक्ष्मजीव विज्ञ डाक्टर प्रभाकर पाण्डले बताए। 

frontline

उनका अनुसार सोमबार बेलुकी मात्रै नारायणी अस्पतालको प्रयोगशालामा ५३ जनाको पीसीआर परिक्षण गर्दा ६८ प्रतिशतमा अर्थात ३६ जनामा संक्रमण पुष्टि भएको छ।

 यसअघि आइतबार बेलुकीपनि नारायणी अस्पतालकै प्रयोगशालामा ६२ जनाको पीसीआर परीक्षण गर्दा ६० प्रतिशतमा अर्थात ३७ जनामा संक्रमण पुष्टि भएको थियो।

गत शुक्रबार पनि नारायणीकै प्रयोगशालमा ६४ जनाको परिक्षण गर्दा ६७ प्रतिशतमा अर्थात ४३ जनामा संक्रमण भेटिएको थियो।

गत बिहीबार ४७ जनाको परिक्षण गर्दा ६५ प्रतिशतमा अर्थात ३१ जनामा संक्रमण पुष्टि भएको थियो। गत बुधबार ९५ जनाको परिक्षणमा ५३ प्रतिशतमा अर्थात ५१ जनामा संक्रमण पुष्टि भएको थियो। 

गत बुधबार देखि सोमबार सम्मगरी अस्पतालमा ३ सय २१ जनाको पीसीआर परिक्षण गर्दा ६१ प्रतिशत अर्थात १९८ जनामा संक्रमण भेटिएको प्रयोगशाला प्रमुख डाक्टर पाण्डेले जानकारी दिए। 

यस्तै भारतबाट प्रवेश गर्ने वीरगन्ज नाकास्थित हेल्थ डेस्कमा हुँदै आएको एन्टिजेन परिक्षणमा पनि संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ। 

हेल्थ डेस्क इन्चार्ज डाक्टर अनिषा महत्तोका अनुसार नाकाको हेल्थ डेस्कमा पुष १५ सम्म दैनिक १÷२ जनामा मात्र संक्रमण भेटिने गरेका थिए।

त्यसपिछ पुष मसान्तसम्म दैनिक औसतमा १५ जनामा संक्रमण देखिने गरेको थियो। तर माघ सुरुभए यता दैनिक औसतमा २५ जना संक्रमित भेटिने गरेको डाक्टर महत्तोले बताइन्।

नाकामा मङगलबार दिउसोसम्म मात्रै ३०० जनाको एन्टिजेन परिक्षण गर्दा ३१ जनामा संक्रमण भेटिएको उनले बताइन्। 

यसअघि सोमबार ३०२ जनाको परिक्षण गर्दा ४४, आइतबार ३५८को परिक्षणमा ३० र माघ १ गते शनिबार ४५३ को परिक्षणगर्दा ३३ जनामा संक्रमण भेटिएको थियो। 

माघ १ देखि मङगलबार माघ ४ गते मङगलबारसम्म १ हजार ४ सय १३ जनाको परिक्षण गर्दा ती मध्ये १ सय ३८ जनामा संक्रमण पुष्टि भएको डाक्टर महत्तोले बताइन्। त्यसअघि पुष महिनाभर नाकामा १५६ जनामा मात्र संक्रमण पुष्टि भएको उनले जानकारी दिइन्। 

स्वास्थ्य कार्यालय पर्साका अनुसार पर्सामा हाल सकृय संक्रमितको संख्या १ सय ९१ जना रहेको छ।  वीरगन्जमा भइरहेको परिक्षणमा पर्सा जिल्लाका साथै अन्य जिल्ला घर भएका र भारतीयहरुमा पनि संक्रमण पुष्टि भइरहेको छ।

तर पर्साभन्दा बाहिर घर भएका संक्रमितको विवरण कार्यालयले नराख्ने गरेकोले जिल्लामा सकृय संक्रमितको संख्या कम देखिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए। 

उनका अनुसार सोमबार बेलुकीसम्म पर्सामा सकृय संक्रमित १ सय ९१ जना मात्रै रहेको र ती मध्ये १ सय ८७ जना होमआइशोलेनमा छन्। बाँकी ४ जना संक्रमित भने नारायणी अस्पतालमा उपचाररत छन्। 

पर्सा र यसको सदरमुकाम वीरगन्जमा संक्रमण दर समग्र देशको भन्दा निक्कै बढी रहेकाले पर्साफेरि कोरोनाको हटस्पट बनेको यहाँका चिकित्सकले बताएका छन्।

परिक्षणको दायरा अझै बढाउने हो भने संक्रमण दर अझ धेरै पुग्ने नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले बताए। 

उनले भने,‘यहाँ संक्रमण समुदायमा नभइ घर—घरमै पुगिसकेको छ, अधिकांशले स्वास्थ्यमा समस्या भएर पनि परिक्षण गराइरहेका छैनन् यदि परिक्षण गराउने हो भने संक्रमण दर अझ धेरै पुग्छ। 

पर्सामा संक्रमण दर अन्य स्थानको भन्दा बढी हुनुमा चार।पाँच वटा कारणहरु रहेको यहाँका चिकित्सक बताउछन्। 

डाक्टर सिंह भन्छन्,‘एक त अहिलेको भेरियन्ट पहिलेको भन्दा धेरै संक्रामक छ, अर्को मुख्य कारण विश्व स्वास्थ्य संगठनले निर्धारण स्वास्थ्य सुरक्षाका उपायहरु प्रभावकारी रुपमा अपनाइएको छैन।

संक्रमण समुदायस्तरमा फैलिसक्दा पनि वीरगन्जमा भिडभाडका कार्यक्रम, प्रदर्शन, गोष्ठी, अधिवेशन, सभासम्मेलन इत्यादि भइनै रहेको छ।

सर्वसाधरणले पनि मास्क र सेनीटाइजरको प्रयोग गरेका छैनन्।’अर्को कारण समुदायमा संक्रमण फैलिसकेको भएपनि परिक्षणको दायरा बढाउन नसकिएकाले संक्रमण दर बढ्दै गएको उनी बताउछन्।

उनी भन्छन्,‘यदि परिक्षणको दायरा बढाउने हो भने संक्रमण रोकथाम गर्न सकिन्छ तर त्यो हुन सकेको छैन।’ 

यसका साथै भारतबाट वीरगन्ज नाका हुँदै प्रवेश गर्ने सबैको परिक्षण नभइरहेकाले पनि त्यसलेपनि संक्रमण थप भित्र्याइरहेको डाक्टर सिंहको भनाइ छ। 

उनी भन्छन्,‘वीरगन्ज देशकै प्रमुख नाका हो, त्यहाँबाट दैनिक कम्तिमा पनि ५ हजार मानिसको नेपाल भारत आउजाउ हुन्छ, तर नाकाको हेल्थ डेस्कमा भने दैनिक औसतमा साढे ३ सय जनाको मात्रै परिक्षण भइरहेको छ।’

सरोकारवाला निकायले यी सबै कुरामा अझै पनि ध्यान नदिने हो भने वीरगन्ज र पर्साको अवस्था पहिलो र दोश्रो लहरको भन्दापनि चिन्ताजनक अवस्थामा पुग्ने डाक्टर सिंह बताउछन्।    

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here