पार्टी छोडेको हो या होइन स्पष्ट पार्न एमालेमा लागेका नेतालाई माओवादी केन्द्रको आग्रह ।

फ्रन्टलाइन, काठमाडौँ । माओवादी केन्द्र छाडेर एमालेतिर लागेका नेताहरुलाई पार्टी छाडेको हो वा होइन स्पष्ट गर्न माओवादी केन्द्रले आग्रह गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको निर्णयलाई सदर गर्दै यस्तो आग्रह गरेको हो ।
पार्टी छाडेर अन्य पार्टीमा लागेकालाई स्पष्टीकरणको माग गर्ने निर्णय गरेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ‘मन्त्री पद त्याग गरेर फिर्ता हुन निर्देशन गरिएको छ। स्थायी कमिटी बैठकले उहाँहरुलाई फिर्ता हुन २४ घण्टे अल्टिमेटम दिएका थियौँ। पत्र प्राप्त भइसकेपछिको समय गणना हुन्छ’, श्रेष्ठले भन्नुभएको छ । तर सरकारमा रहेका नेकपा माओवादी केन्द्रका कुनै पनि नेताले फेरी पुर्व पार्टीमा फर्कने संकेत देखाएका छैनन ।
बैठकमा वर्तमान राजनीतिक परिस्थिति, संगठनात्मक स्थितिबारे एकएक जनाले रिपोर्टिङ गर्ने, केन्द्रीय सदस्यहरुले पार्टी र आन्दोलनलाई कसरी बढाउने भन्नेबारे राख्ने, पार्टीको विधान र पार्टी अनुसाशन, राष्ट्रिय भेला र अन्य विभिन्न विषयमा छलफल भएको उहाँले बताउनुभयो ।
बैठकको सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीमाथि भएको आक्रमण र अब कार्यभारबारे संक्षिप्तमा रिपोर्टिङ गर्नुभएको थियो । केन्द्रको तर्फबाट नेता श्रेष्ठले नै बैठकलाई जानकारी गराउनुुभयो ।
उहाँले पार्टी एकताको उद्देश्य र मर्मबारे जानकारी गराउनुभएको थियो । बैठकमा सबै प्रदेशको र उपत्यका विशेष कमिटीले पनि रिपोर्टिङ गराएका छन्। नेता श्रेष्ठले तत्कालै सरकारबाट समर्थन फिर्ता लिने स्थिति नबनिसकेको बताउनुभयो । कांग्रेस र जसपासँग निरन्तर सरकार निर्माणको विषयमा छलफल भइरहेको समेत श्रेष्ठको भनाई छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटिको अर्को बैठक सोमबार ११ बजे बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here