माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्छ : निर्वाचन आयोग

३० पुस, काठमाडौं । निर्वाचन आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएको छ ।

आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको आयोगले शुक्रबार शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँग छलफल गरेको थियो ।

frontline

आयोगको कार्यालयमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएका छन् ।

संविधानको धारा २२५ मा स्थानीय तहको कार्यकाल निर्वाचन भएको मितिले ५ वर्ष हुने र कार्यकाल समाप्त भएको ६ महिनाभित्र गाउँसभा र नगरसभाको निर्वाचन गरिसक्नुपर्ने उल्लेख छ ।

तर ऐनमा पहिलो चरणमा निर्वाचन भएको ७ दिनभित्र कार्यकाल शुरु भएको मानिने उल्लेख छ । त्यसैले स्थानीय जनप्रतिनिधिहरुको कार्याकाल २०७९ जेठ ५ गते सकिने आयोगले बताएको छ ।

त्यसपछि स्थानीय जनप्रतिनिधिको म्याद थप्न पनि नमिल्ने र, उनीहरुले गर्ने काम अरुले गर्न पनि नमिल्ने भएकाले वैशाखमा चुनवा गर्नुपर्ने आयोगको तर्क छ ।

नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल भन्छन्, ‘निर्वाचनबाहेक अर्को विकल्प छैन । किनकि कुनै पदाधिकारीको म्याद थप्न पनि पाइँदैन, उसले गर्ने काम अर्कोले गर्न पाउँदैन ।

त्यसैले आगामी जेठ ५ गतेभन्दा अगाडि त्यहाँ पदबहाल गराउन सक्ने गरी निर्वाचन गर्नुपर्छ भन्ने आयोगले आफ्नो पोजिसन राखेको छ ।’

निर्वाचन आयोगले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय चुनाव १४ वैशाखमा एकै चरणमा गर्ने प्रस्ताव गरेको थियो ।

दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते स्थानीय चुनाव गर्न सकिने आयोगको प्रस्ताव छ ।

आयोगका अनुसार वैशाखमा गर्ने स्थानीय चुनावको मिति घोषणा गर्न ढिला भइसक्यो । निर्वाचन कानुनअनुसार तयारीका लागि चाहिने १२० दिन घर्किसकेको भन्दै आयोगले माघ पहिलो हप्ताभित्र निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन्, ‘छिट्टै निर्वाचनमा जानुपर्छ, माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा हुनुपर्छ भनेर प्रमुख आयुक्तले भन्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here