बुद्धचोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु
३० पुस, भैरहवा । रुपन्देहीको भैरहवास्थित बुद्धचोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले लु १८ प ५७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ओमसतिया गाउँपालिका–१ खुन्साका ४१ वर्षीया जीबराज बस्यालको मृत्यु भएको हो ।
तीब्र गतिमा आएको ट्रकले मोटरसाइकलमा सवार बस्याललाई ठक्कर दिएको थियो । ठक्कर दिनुका साथै ट्रकले केही दूरी परसम्म घिसारेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्रकले मोटरसाइकललाई करिब २ सय मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताए ।
बुद्धचोकबाट ट्रकले मोटरसाइकल घिसार्दै नयाँ सडकस्थित भाटभटेनीको नजिक ल्याएको थियो । दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रकमाथि ढुंगामुढा गर्दा क्षति पुगेको छ ।
ट्रकको सिसा फुटेको छ । घटनास्थलमा आएको प्रहरीले ट्रकमा थप क्षति हुनबाट जोगाएको थियो । ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।






प्रतिक्रिया दिनुहोस्