मेचीनगर ७ मा ग्यास सिलिण्डर विष्फोट, १ को मृत्यु, १२ जना घाइते
२२ पुस, झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ मा ग्यास सिलिण्डर विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
मेचीनगर ७ स्थित इन्द्रेणी टोलमा स्थानीय केशव पाठकको घरमा गएराति करिब ९: ३० बजे आगलागी भएको हो ।
आगलागी नियन्त्रणका लागि स्थानीय नागरिकहरु घट्नास्थल पुग्दा सिलिण्डर पड्किएर उनीहरू घाइते भएका हुन् ।
सोही क्रममा ग्यास सिलिण्डर विष्फोटमा परी मेचीनगर- ८ बस्ते ४५ वर्षीय सारद राजवंशीको मृत्यु भएको हो ।
घाइते उनलाई उपचारका लागि एन्जल मेडिकल धुलाबारी पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यस्तै आगलागीमा घाइते हुनेमा मेचीनगर ८ का लेखनाथ तिमल्सिना, बिर्तामोड ९ का गोविन्द प्रसाद राजवंशी, मेचिनगर ७ का दिपेन्द्र कार्की, मेचिनगर ७ कै चन्दन गौतम, मेचीनगर ७ कै सुबलाल राजवंशी, विनोद गिरि, नवराज श्रेष्ठ, सन्देश बोहोरा, भवानी शंकर न्यौपाने, मेचीनगर ८ का हरि वि.क., निर्मल शर्मा पनि घाइते भएका छन् । उनिहरु सबैको बि. एण्ड सि. अस्पताल विर्तामोडमा उपचार भइरहेको जनाइएको छ ।
आगलागीमा घाइते भएकी मेचीनगर ८ का अर्जुन अधिकारीकी छोरी शुसिला अधीकारीको भने स्थानीय साइ सुमिरन मेडिकल ईटाभट्टामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको समयमा आगलागी भएकाे थियाे । त्यसैमा सिलिण्डर समेत विष्फोट हुँदा घर जलेर नस्ट हुनुका साथै लाखौं मूल्यको सामग्री ध्वस्त भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्