चीनको सियानमा खानेकुरा अभाव, विभिन्न वस्तुसँग तरकारी र फलफूल लगायत खानेकुरा साट्दै स्थानीय
२० पुस, सियान । चीनको सियान शहरमा खानेकुरा अभाव भएको छ। ओमिक्रोन भेरियन्ट देखा परेपछि पुन: लकडाउन लागेको सियान शहरमा खानेकुरा अभाव भएको हो।
चरम खानेकुरा अभावका कारण पछिल्लो समय क्वारेन्टिनमा रहेका स्थानीयहरुले विभिन्न वस्तुसँग तरकारी र फलफूल लगायत खानेकुरा साटिरहेका छन्।
सो शहरमा खानेकुरा अभाव खट्किएसँगै क्वारेन्टिनमा रहेका स्थानीयहरुले चुरोटसँग बन्दा, भाँडा माझ्ने लिक्विडसँग स्याउ, स्यानिटरी प्याडसँग अन्य तरकारी र विभिन्न ग्याजेटसँग अन्य खानेकुरा साटिरहेको पोष्ट चिनियाँ सामाजिक सञ्जाल वेइवोमा यतिबेला भाइरल बनिरहेको छ।
सियान शहरमा गएको डिसेम्बर २३ मा लकडाउन लागेपछि करिब १ करोड ३० लाख मानिसहरु घरभित्रै बस्न बाध्य छन्।
घरभित्रै बस्न बाध्य मानिसले खानेकुरा किन्न बाहिर निस्कनसमेत पाएका छैनन्। त्यहाँका सरकारी अधिकारीहरुले विभिन्न घरमा निशुल्क खानेकुरा उपलब्ध गराइरहेका छन्।
तर सो शहरका कैयौ मानिसले भने अझै सो सेवाबाट बञ्चित भएको र शहरमा खानेकुरा अभाव हुँदा आफूसँग भएका विभिन्न वस्तुहरु खानेकुरासँग साटिरहेको बताएका छन्।
‘लकडाउनका कारण खानेकुरा अभाव भएको छ। कुनै उपाय नलागेपछि स्थानियले आफूसँग भएको सामग्री खानेकुरासँग साट्न बाध्य छन्’
स्थानीय वाङको भनाईलाई रेडियो फ्रि एसियाबाट उद्धृत गर्दै बीबीसीमा भनिएको छ, ‘लकडाउनकै कारण विभिन्न सामग्रीसँग खानेकुरा साट्ने दिन आएछ। सियानका अधिकांश मानिस निराश बनिसकेका छन्।’
सियान हाल ओमिक्रोनको एसिसेन्टर बनेको छ। सियानमा पछिल्लो समय सबैभन्दा बढी नयाँ संक्रमित फेला परेका छन्।
स्थानिय सरकारले कोभिड १९ विरुद्ध सहि तरिकाले व्यवस्थापन गर्न नजानेको भन्दै अनलाइनमार्फत आलोचना गरिरहेको छन्।
प्रतिक्रिया दिनुहोस्