दिल्लीमा गरिएका नमूना परीक्षणमध्ये ८४ प्रतिशतमा ओमिक्रोन देखियो
२० पुस, भारत । भारतको दिल्लीमा गरिएका नमूना परीक्षणमध्ये ८४ प्रतिशतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ ।
जीन सिक्वेन्सिङका लागि डिसेम्बर ३० र ३१ गते गरिएको परीक्षणमध्ये ८४ प्रतिशत नमूनामा ओमिक्रोन भेरियन्ट फेला परेको दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले बताएका हुन् ।
तर शहरमा कोभिडका संक्रमित बढिरहेका बेला राज्यद्वारा सञ्चालित अस्पताल र क्लिनिकमा स्वास्थ्यकर्मीको कुनै अभाव नभएको पनि जैनको भनाइ छ ।
सोमबार अबेर सार्वजनिक गरिने दिल्लीको स्वास्थ्य बुलेटिन अनुसार पछिल्लो २४ घण्टामा झण्डै ४ हजार नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै, दिल्लीमा पोजिटिभिजी रेट बढेर ६.५ प्रतिशत पुगेको छ । त्यहाँ आइतबार ३ हजार १९५ जना नयाँ संक्रमित थपिएका थिए भने पोजिटिभिटी रेट (संक्रमण दर) ४. ५९ थियो ।
पछिल्लो २४ घण्टामा भारतमा ३३ हजार ७५० जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ १ हप्ताअघि ७ हजार ३१ जना नयाँ संक्रमित थपिएका थिए ।
तर आज दैनिक संक्रमितको संख्या झण्डै ५ गुणाले बढेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा तीव्र गतिमा फैलिइरहेको नयाँ ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या १७ सय १० पुगेको छ । हालसम्म २३ राज्यमा फेला परेको ओमिक्रोनबाट महाराष्ट्र, दिल्ली र केरल सबैभन्दा बढी प्रभावित बनेका छन् ।
ओमिक्रोनका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा छन् । त्यहाँ सोमबारसम्म ५१० जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ ।
ओमिक्रोनका संक्रमित धेरै रहेको सूचीमा दोस्रो स्थानमा रहेको दिल्लीमा आजसम्म ३५१ जनामा यो भेरियन्ट पुष्टि भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।
त्यस्तै, केरलामा १५६, गुजरातमा १३५, तमिलनाडुमा १२१ र राजस्थानमा १२० जनामा ओमिक्रोन देखा परिसकेको छ । कर्नाटकमा सोमबार थप १० जनामा ओमिक्रोन देखिएसँगै कुल संक्रमितको संख्या ७६ पुगेको छ ।
ओमिक्रोन फैलिएका अन्य भारतीय राज्यमा हरियाणा (६३), ओडिसा (३७), पश्चिम बंगाल (२०), आन्ध्र प्रदेश (१७), मध्य प्रदेश (९), उत्तर प्रदेश (८), उत्तराखण्ड (८), चन्डीगढ (३), जम्मू-कश्मीर (३) र अन्डामान एण्ड निकोबार टापू (२) रहेका छन् ।
हालसम्म गोवा, हिमाचल प्रदेश, लद्दाख, मनिपुर र पञ्जाबमा १-१ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको द मिन्टले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्