सप्तरीमा शृंखलाबद्ध हत्या
१४ पुस, राजविराज । सप्तरीमा एउटा हत्या प्रकरण सेलाउन नपाउँदै अर्को बीभत्स हत्या भएको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिकामा एक महिनाअघि भएको वृद्धको हत्याका आरोपितहरूको पहिचान हुन नपाउँदै सोही गाउँपालिकामा १ महिलाको रहस्यमय हत्या भएको छ।
छिन्नमस्ता–१ बरही वीरपुरकी ५२ वर्षीया भुटीदेवी यादवको हत्या गरिएको अवस्थामा आइतबार शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ।
यादवलाई कसले र किन हत्या गरेको खुल्न सकेको छैन। आइतबार साँझ गहुँ खेतमा खरानी हाल्न गएकी यादव राति अबेरसम्म फर्किनन्।
अर्को दिन बिहान शव भेटिएको गाउँलेहरूले जानकारी दिएपछि प्रहरीलाई खबर गरिएको जमाहर यादवले बताए।
शवसँगै घटनास्थलबाट तीनवटा बियरको बोतल बरामद भएको छ। तीमध्ये दुईवटा बोतल फुटेको अवस्थामा रहेको सप्तरी प्रहरीले जनाएको छ।
मृतकको निधारलगायतमा चोट लागेर रक्ताम्य रहेको र शव घिसारिएको अवस्थामा रहेको स्थानीयले बताएका छन्।
अनुसन्धानका क्रममा प्रहरीले बियरको बोतलले प्रहार गरी हत्या गरेको अनुमान गरेको छ। घटनास्थलमा पुगेर डीएसपी माधवप्रसाद काफ्ले र साँझ एसपी अबिनारायण काफ्लेले निरीक्षण गरेका छन्।
शवलाई बुधबार साँझ पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको एसपी काफ्लेले बताए।
प्रहरीले धनुषाको मिथिला नगरपालिकास्थित प्रहरी चौकी लालगढबाट तालिम प्राप्त कुकुर ‘जंगे’ मगाएर ट्र्याकिङ(अपराधीको खोजी) गरेको छ।
कुकुरले ट्र्याकिङ गरेर भारतीय सीमासम्म गएको जानकारी दिँदै डीएसपी काफ्लेले प्रदेश २ प्रहरी कार्यालय अनुसन्धानका लागि फरेन्सिक प्राविधिक टोलीसमेत खटिएको बताए।
एक महिनाअघि सोही गाउँपालिका–६ मा ८९ वर्षीय मिश्रिलाल मण्डलको धारिलो हतियारले घाँटी रेटेर हत्या भएको थियो।
मंसिर ८ गते छिन्नमस्ता सडकखण्डको खुदीबखारीस्थित झौखराही फूलबारीमा मण्डलको शव फेला परेको थियो।
हत्यारा हालसम्म पत्ता लाग्न सकेको छैन। मृतकका छोरा ६३ वर्षीय शिवनारायण मण्डलले अनुसन्धान र कारबाहीका लागि घटनाको भोलिपल्टै उजुरी दिएका थिए।
त्यस्तै, सप्तरीको खडक नगरपालिका–५ खरचुहिया बजारमै घरमा सुतिरहेका ७५ वर्षीय सबुरी साह र उनकी ६५ वर्षीया श्रीमती बेचनीदेवी साहको २०७५ फागुन १४ गते हत्या भएको थियो।
वृद्ध दम्पतीलाई आफ्नै घरमा जलाएर भएको हत्या घटनाको ३ वर्ष बितिसक्दा पनि घटना रहस्यमै छ।
राजगढ गाउँपालिका–५ मलेकपुरका ४४ वर्षीय बुधु सदाको २०७८ वैशाख १४ गते कुटपिटका कारण मृत्यु भएको भन्दै मृतककी श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन्।
अनुसन्धान जारी रहेको बताउँदै आएको प्रहरीले मृत्युको कारण पत्ता लगाउन नसकेको भन्दै उजुरी समेत दर्ता गरेको छैन्।
२०७३ मंसिर ५ गते हनुमाननगर कंकालिनी नगरपालिका–५ की अन्दाजी २५ वर्षीया अपरिचित महिलाको शव फेला पर्यो।
उनको शव टुक्राटुक्रा पारी फरक फरक ठाउँमा पाइएको थियो। उक्त घटनाका आरोपित मात्र नभई मृतकसमेत पत्ता लाग्न सकेको छैन।
त्यस्तै, राजविराज–२ तेतरी गाछीकी १८ वर्षीया कोमल साफीको २०७६ मंसिर ४ गते हत्या गरिएको शंकास्पद अवस्थामा घरमै शव फेला पर्यो।
घाँटीमा गोलो निलडाम रहेको अवस्थामा फेला परेको शव शंकास्पद भएको भन्दै धरानमा लगेर पोस्टमार्टम गरियो। घटनाबारे अझै केही पत्ता लागेको छैन।
अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ की ३६ वर्षीया बुलु खातुनको अपरिचित व्यक्तिबाट हत्या भयो। घाँस काट्न २०७६ कात्तिक १२ गते निस्किएकी महिलाको शव ४ दिनपछि शंकास्पद र सडेगलेको अवस्थामा फेला पर्यो।
मृतकका श्रीमान इनुस मियाँले उजुरी दिए पनि हालसम्म आरोपितको पहिचान हुन सकेको छैन।
झुटकी प्रहरी चौकीका इन्चार्ज असई झापाको भद्रपुर नगरपालिका–११ चन्द्रगढीका ४४ वर्षीय रमेश सुब्बाको २०७२ पुस २० गते साँझ गोली प्रहारबाट भएको हत्याको थियो। घटनाको पनि सफल अनुसन्धान हुन सकेको छैन।
त्यस्तै, रूपनी गाउँपालिका–३ कटैयाका १४ वर्षीय अकलेश मालीको २०७६ फागुन ६ गते हत्या वा आत्महत्या दुरुत्साहन भएको पत्ता लाग्न सकेको छैन।
महादेवा गाउँपालिका–२ का साढे ३ वर्षीय सुजित भनिने सुधीरकुमार यादवको २०७७ जेठ २१ गते हत्या भएको भन्दै मृतकका बुवा सुर्यनारायणले दिएको उजुरी अनुसन्धानकै क्रममा छ।
राजविराज नगरपालिका–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरी फालिएको शव २०७५ जेठ ३१ गते उनकै घरको शौचालयको सेफ्टी ट्यांकीमा फेला पर्यो।
प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी कारबाही अगाडि बढायो। घटनाको अझै सुल्झिएको छैन।
यसरी एकपछि अर्को रहस्यम घटना भइरहेकोले घटनास्थल आसपासका नागरिकहरू भयभित हुन थालेका छन्। लामो समयसम्म घटना रहस्यमय रहँदा पीडितले न्याय पाउन सकेका छैनन्।
प्रहरीमाथि प्रश्न उठ्न थालेको छ। हत्यामा संलग्नहरू पक्राउ पर्नु त कता हो कता पहिचानसमेत हुन नसक्नुले घटनालाई झनै रहस्यमय बनाएको राजविराजका शैलेन्द्रचन्द्र झाले बताए।
प्रतिक्रिया दिनुहोस्