सिरिन्ज नआउँदा बालबालिकालाई फाइजर खोप लगाउने कार्य तत्काललाई स्थगित
१३ पुस, काठमाडौं । सरकारले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप दिने तयारी गरिरहँदा खोप लगाउन आवश्यक पर्ने सिरिन्ज नआउँदा तत्काललाई सो कार्य स्थगित भएको छ।
खोप शाखाका प्रमुख सागर दाहालले फाइजर खोपलाई आवश्यक पर्ने सिरिन्ज आउने मिति टुंगो नभएकाले तत्काललाई खोप लगाउने कार्य स्थगित गर्नु परेको जानकारी दिए।
उनले फाइजर खोपको हकमा छुट्टै सिरिन्ज चाहिने भन्दै उक्त सिरिन्ज छिट्टै आउने भनिए पनि ठ्याक्कै कहिले आउँछ भनेर जानकारी नआएको बताए।
‘अरू सबै खोप ०.५ एमएलको सिरिन्जमा दिइन्छ तर फाइजर खोपका लागि ०.३ एमएलको सिरिन्ज चाहिन्छ,’ दाहालले भने, ‘सिरिन्ज पनि चाँडै आउँदैछ भन्ने जानकारी आएको छ तर कहिले भन्ने मिति आइसकेको छैन। त्यसैले सिरिञ्ज आएपछि मात्र खोप अभियान सञ्चालन गर्छौं।’
योसँगै फाइजर खोपका लागि चाहिने घोलक पनि आउन बाँकी रहेको भन्दै घोलक पनि पर्सि आइपुग्ने दाहालले बताए।
‘फाइजर खोप सिधै दिन मिल्दैन। त्यसमा घोलक मिसाउनुपर्ने हुन्छ र घोलक पनि पर्सिसम्म आइपुग्छ भन्ने छ,’ दाहालले भने।
गत पुस ९ गते अमेरिकाले नेपाललाई थप ६ लाख ६४ हजार फाइजर खोप अनुदानमा दिएको थियो।
सरकारले सोही खोप १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई दिने तयारी गरेको थियो। तर खोपसँगै चाहिने घोलक र सिरिन्ज बेलैमा आइनपुग्दा उक्त कार्यक्रम प्रभावित भएको हो।
प्रतिक्रिया दिनुहोस्