इजरायलले आफ्ना नागरिकलाई चौथो डोज खोप दिने
८ पुस, काठमाडौं । इजरायलले आफ्ना नागरिकलाई कोरोनाभाइरसविरूद्ध चौथो डोज खोप दिने भएको छ।
६० वर्षमाथि नागरिक र मेडिकल क्षेत्रमा काम गर्नेहरूलाई चौथो डोज खोप लगाउन लागिएको अधिकारीहरूले जनाएका छन्।
द न्युयोर्क टाइम्सका अनुसार प्रधानमन्त्री नेफ्टाली बेनेटले चौथो डोज लगाउने कुराको प्रशंसा गर्दै यसले पछिल्लो समय संसारलाई लपेटेको ओमिक्रोन भेरियन्टविरूद्ध लड्न सहयोग पुग्ने बताएका छन्।
इजरायलमा कोरोनाभाइरसविरूद्धको खोप कार्यक्रम निकै प्रभावकारी छ। बेन्यामिन नेतन्याहूलाई हटाएर इजरायलको प्रधानमन्त्री बनेका बेनेटले गत जुनमै आफ्ना नागरिकलाई कोरोनाविरूद्धको तेस्रो डोज खोप लगाउने घोषणा गरेका थिए।
कोरोनाभाइरसविरूद्ध बनेका केही खोप एक डोज लगाउनु पर्ने छन् भने धेरै खोपका दुई डोज लगाउनु पर्छ।
खोप लगाएको केही महिनापछि प्रभावकारिता कम हुने भन्दै बुस्टर डोज लगाउनु पर्ने कुरा उठिरहेको छ। युरोपका केही देश र अमेरिकामा बुस्टर डोजको रूपमा तेस्रो डोज पनि लगाउन थालिएको छ।
ओमिक्रोन भेरियन्टले बेलायत, अमेरिकालगायत मुलुकमा कोरोनाका संक्रमित बढिरहेका बेला इजरायलले चौथो डोज लगाउने निर्णय गरेको हो।
चौथो डोज लगाउँदा इजरायलमा ओमिक्रोनको संक्रमण कस्तो हुन्छ भन्ने कुराले अरू देशलाई पनि आफ्नो खोप कार्यक्रमलाई कसरी अघि बढाउने भन्नेमा सहयोग पुग्नेछ।
इजरायलमा अहिलेसम्म ओमिक्रोनबाट एक जनाको मृत्यु भएको छ भने दैनिक कूल संक्रमितमध्ये एक चौथाइमा ओमिक्रोन देखिएको छ।
प्रतिक्रिया दिनुहोस्