कालिगण्डकी करिडोर भिरकोटमा सुरुङमार्ग निर्माण गरिने
७ पुस, काठमाडौं । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकोटमा सुरुङमार्ग निर्माण गरिने भएको छ ।
कालिगण्डकी नदीको धार परिवर्तन र दोवा खोलाको कटानले सडक साँघुरिएपछि करिब ३०० मिटर सुरुङमार्ग निर्माण गरिने भएको हो ।
करिडोर निर्माणका लागि सुरुङ्गमार्ग निर्माण गर्नैपर्ने निश्कर्षमा पुगेको कालिगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले त्यसका लागि अध्ययन सुरु गरेको छ।
अन्नपूर्ण–१ दोबाको सुनारी गाउँ हुँदै बग्ने ठाडो खोलाको बेगको असरले हरेक वर्ष तीव्ररुपमा भइरहेको कटानका कारण थप चट्टान काट्न असम्भव जस्तै भएपछि सुरूङमार्गको आवश्यकता देखिएको आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।
“सुरुङमार्ग बनाउन तीन वर्ष अगाडि नै प्रारम्भिक अध्ययन गरिएको थियो, यस वर्ष उच्च प्राथमिकतामा राखी फेरि अध्ययन अगाडि बढाइएको छ”, प्रमुख प्रजापतिले भने ।
बेनी–जोमसोम सडकखण्डको सबैभन्दा चुनौतीपूर्ण स्थानमध्येमा पर्ने भिरकोटको समस्या समाधानको उपयुक्त विकल्प नै सुरुङमार्ग भएको प्रमुख प्रजापतिको भनाइ छ ।
एक मिटर सुरूङमार्ग बनाउन रु १७ लाख अनुमान गरिएकाले करिब रु ५० करोड लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
“लागत अझै पनि थपघट हुनसक्छ, सवारीसाधन आउन र जानका लागि दुई वटा लेन हुनेछ”, प्रमुख प्रजापतिले भने । सुरुङमार्ग दोबा गाउँ जाने बेलिब्रिज नजिकको पहाडबाट पोखरेबगरतर्फको सडकखण्डमा छुने गरी बनाइने सुरुङमार्ग सवारीसाधन आवतजावत गर्ने मिल्ने गरी दुई लेनको ११ मिटर फराकिलो हुनेछ ।
सडकखण्डको म्याग्दीतर्फ नदी कटान, प्राकृतिक विपत्तीलगायतका कारण ढिलाइ भइरहेकाले अति जोखिम स्थानमा खर्चिलो विकल्पको प्रयोग गरेर भए पनि स्तरोन्नतिको काम अगाडि बढाउने नेपाल सरकारको योजना छ ।
रु सात अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको १८६ किमी दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत सडक तथा पुल निर्माणमा हालसम्म रु चार अर्ब ७३ करोड खर्च भइसकेको लेखा अधिकृत शेखरचन्द्र सापकोटाले बताए ।
बेनी–जोमसोम खण्डको ६५ र जोमसोम–कोरला खण्डको ८५ प्रतिशत काम सम्पन्न भएको छ । तेह्र वटा खण्डअन्तर्गत आयोजनाको कार्यक्षेत्र बागलुङ र पर्वतको सिमानामा रहेको मालढुङ्गादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हँुँदै कोरला नाकासम्म पर्छ ।
म्याग्दी खण्डमा डिबिएसडी र मुस्ताङमा आक्सपाल्ट प्रविधिको कालोपत्र भइरहेको छ । सडकखण्डको सबैभन्दा जोखिम मानिने म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा १।२ किमी सडक विस्तारका लागि डोजरको सहायताले मात्रै ट्रयाक निर्माण नभएपछि विष्फोटक पदार्थको प्रयोगले भिर फुटाउन ५० टन विष्फोटक पदार्थको प्रयोग गरिने र थप १० टनका लागि आवश्यक प्रक्रियामा रहेको आयोजनाले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्