काठमाडौंको तामक्रम घट्दै, ३ डिग्रीमा झर्यो, हुम्लामा माइनस ६
५ पुस, काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ। राती र बिहानपख तापक्रम घट्न थालेको हो।
काठमाडौं उपत्यकामा दिउँसो घाम लागेपनि साँझ बिहान भने चिसो बढ्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८: ४५ बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको हो। अधिकतम तापक्रम घटेर १७.४ डिग्रीमा पुगेको छ।
सबैभन्दा जुम्लाको तापक्रम कम छ । आज जुम्लाको तामपक्रम माइनस ६.२ डिग्री सेल्सियस छ। अधिकतमक तामपक्रम १४.४ डिग्री छ।
यस्तै अहिले देशको पश्चिमी र मध्य तराई भू-भागका केही स्थानमा र पूर्वी तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।
आज बिहान ८ : ४५ बजेको मौसमी अवस्थाअनुसार धनगढीको तापक्रम ४.२ डिग्री, नेपालगंजको ४.६, भैरहवाको ७.५, सिमराको ६ , जनकपुरको ८ र विराटनगरको ८ डिग्री सेल्सियस रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले तराईका भू-भागहरुममा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध छ।
यस्तो छ ३ दिनको मौसम अवस्था
०७८ पौष ५
दिउँसो : बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशभरि आंशिक बदली रहनेछ।
२०७८ पौष ६
दिउँसो : प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
राती : प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ तथा बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
२०७८ पौष ७
दिउँसो : पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।
राती : पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।
प्रतिक्रिया दिनुहोस्