पूर्व अधिकृत थपलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२३ मंसिर, काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थमन्त्रालयका पूर्व शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विभिन्न कार्यालयमा काम गर्दा स्रोत नखुलेको १ करोड ६४ लाख ८९ हजार ७०० सय रुपैयाँ २५ पैसा आर्जन गरेको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
०४० फागुन ६ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका थपलियाले २०७५ चैत ३० गते अवकाश हुनुअघिसम्म २ करोड ६७ लाख ७१ हजार ९५८८ रुपैयाँ आम्दानी गरेका थिए ।
जसमा उनको वैध आय १ करोड २ लाख ८२ हजार २ सय ५८ रुपैयाँ मात्र हुने अख्तियारको दावी छ ।
त्यसमध्ये एक करोड ६४ लाख ८९ हजार ७०० रुपैयाँ भ्रष्टाचार मार्फत आर्जन गरेको भन्दै अख्तियारले उक्त रकम जफत र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही गर्न माग गरेको छ ।
अवैध आर्जनको सम्पत्ति उनले श्रीमती मुना पन्त थपलियाको नाममा घरजग्गा तथा बैंक खाताहरुमा राखेको अख्तियारको भनाइ छ ।
अख्तियारले उनको श्रीमतीलाई समेत प्रतिवादी कायम गरी सम्पत्ति जफत गर्न माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्