अख्तियारद्वारा ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२१ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वैदेशिक रोजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गाप्रसाद पोखरेलसहित अन्य दुई जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

नायब सुब्बा (नासु) पोखरेलले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत बनाउन आएका सेवाग्राहीलाई अनलाइन फर्म भर्न बिचौलियासम्म जान बाध्य बनाउने गरेको पाइएको आयोगले जनाएको छ ।

frontline

नासु पोखरेलले खेमप्रसाद काफ्लेमार्फत घुस लिने गरेको अनुसन्धानबाट खुलेपछि आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।

साथै वैदेशिक रोजगारमा आउनेसँग बिचौलियाको काम गर्दै आएका खेमप्रसाद काफ्ले राजेश पोखरेलले प्रतिव्यक्ति २१ हजार २ सय ९२ रुपैयाँ लिने गरेको र सो रकमबाट नासु पोखरेललाई ८ हजार दिने गरेको भेटिएपछि आयोगले तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

आयोगको अनुसन्धानमा घुस लिएको प्रमाणित भएपछि सोमबार विशेष अदालतमा मुद्दा दायर भएको जनाएको छ । नासु पोखरेललाई ८ हजार बिगो दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

त्यस्तै, बिचौलियाको भूमिका निर्वाह गर्दै आएका देखिएको खेमप्रसाद काफ्ले र राजेश पोखरेललाई १३ हजार २ सय ९२ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

यस्तै, अख्तियारले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि दमाई, कोषाध्यक्ष खड्गप्रसाद जैसी र सचिव पूर्णिमा शाह सिंहविरुद्ध १८ लाख ७७ हजार रुपैयाँबराबरको बिगो भराउन माग गर्दै मुद्दा दायर गरेको छ ।

सोही उपभोक्ता समितिका सदस्य रणबहादुर बडुवालविरुद्ध ५ लाख ५० हजार र अर्का सदस्य भरतबहादुर शाहीविरुद्ध १ लाख ५० हजार, सो वन समूहका उपभोक्ता प्रेमबहादुर सिञ्जापतिविरुद्ध पनि ८ लाख ८७ हजारबराबरको बिगो भराउन माग गरिएको छ ।

यसैगरी, उपभोक्ता हस्तनादेवी शाहीविरुद्ध १ लाख १५ हजार र अशोक सिंहविरुद्ध २५ हजारबराबरको बिगो माग गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here