पोखरा–नेपालगञ्ज घुम्न जहाज चार्टर

शुक्रबार २ बज्नै लाग्दा पोखरा विमानस्थलमा जहाज अवतरण भयो । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीसहित पर्यटन व्यवसायीले शुक्रबार करिब १ घन्टादेखि त्यही जहाजको प्रतीक्षा गरिरहेका थिए ।

जहाजबाट पोखरा ओर्लिए नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा । मेयर राणाको नेतृत्वमा नेपालगञ्जदेखि त्यहाँका पर्यटन व्यवसायी पोखरा घुम्न आएका रहेछन् । त्यो पनि जहाज नै चार्टर गरेर । मेयर धवल शम्शेरलाई पोखराका मेयर मानबहादुरले माला लगाए र अंकमाल गर्दै भने, ‘पोखरामा स्वागत छ ।’

frontline

शुक्रबार नेपालगञ्जदेखि मेयरको नेतृत्वमा १८ जनाको टोली पोखरा घुम्न आइपुगेका हुन् । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) नेपालगञ्ज र पोखराको पहलमा विमान चार्टर गरेर दुवैतिर घुम्ने मेसो मिलाएका छन् ।

कोभिड–१९ ले थला परेको पर्यटनलाई निजी क्षेत्रबाटै चलायमान बनाउन र पोखरा–नेपालगञ्ज उडानको सम्बन्ध जोड्ने अभियान नाट्टा नेपालगञ्ज र पोखराले चलाएको हो ।

लामो समयदेखि चर्चा र बहस भइरहेको भए पनि हवाई सम्बन्ध जोडिन सकेको थिएन । जहाजबाट शुक्रबार पोखरा ओर्लेका मेयर र व्यवसायीको टोली पोखरा घुमेर आइतबार फर्किने छ ।

नेपालगञ्जका मेयर धवलशम्शेर राणा नेतृत्वको टोलीलाई स्वागत गर्दै पोखराका मेयर मानबहादुर जिसी । तस्वीर सौजन्य : प्रेम थापा

शुक्रबारै पोखराका व्यवसायी त्यही चार्टर विमानमा नेपालगञ्ज घुम्न पुगेका छन् । नेपालगञ्जबाट चार्टर विमानले आइतबार पोखराको टोलीलाई लिएर ओर्लने छ र पोखराबाट नेपालगञ्जको टोली लिएर फर्किने छ ।

भारतसँग मुख्य नाका जोडिएको, पश्चिमका धेरै पर्यटकीय गन्तव्य पुग्ने व्यस्त सहर नेपालगञ्ज र पर्यटकीय नगरी पोखराबीच दीर्घकालीन रुपमै हवाई सम्बन्ध जोड्न यो महत्वपूर्ण कडी हुने नेपालगञ्जका मेयर धवल शम्शेरले बताए ।

भारतसँग नाका जोडिएको व्यापारिक र व्यस्त सहर नेपालगञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज लगायतका थुप्रै ठाउँ घुम्न पुग्ने हब भएको उनको भनाइ छ । ‘नेपालगञ्जलाई क्यासिनो सिटी पनि बनाउँदै छौं । अहिले ४ वटा क्यासिनो छन्, अब ९ वटा पुग्दैछ । नेपालगञ्ज एउटा हब हो,’ उनले भने, ‘पोखरा अर्को पर्यटकीय हब हो । हामीले पर्यटकलाई नियमित पोखरा उडाउन सक्छौं ।’

हप्ताको दुई दिन जहाज चार्टर गरी व्यवसायी पोखरा–नेपालगञ्ज आउजाउ गर्नेछन् । ‘यो एक महिनासम्म चल्ने छ । शुक्रबार नेपालगञ्जबाट व्यवसायी पोखरा आउँछन्, त्यही दिन पोखराका व्यवसायी तथा पर्यटक नेपालगञ्ज उड्छन्,’ नाट्टा नेपालगञ्जका अध्यक्ष श्रीराम सिग्देलले भने, ‘नाट्टा नेपालगञ्ज र पोखराले सीता एयरको जहाज चार्टर गरेका हुन् । सरकारी निकायबाट सिन्को नभाँचिएपछि निजी क्षेत्रबाट नै उडानको थालनी भएको हो ।’ अर्को हप्ता फेरि अर्को टोलीले पोखरा–नेपालगञ्ज घुम्ने छ ।

पोखरा–नेपालगञ्ज घुम्न व्यवसायीले एकतर्फी प्रतिव्यक्ति ५ हजार रुपैयाँ तिरिरहेको अध्यक्ष सिग्देलले जानकारी दिए ।

नाट्टा नेपालका अध्यक्ष अच्युत गुरागाईंले नसुन्ने, नदेख्ने सरकार भएपछि निजी क्षेत्रबाट पहल भएको बताए । ‘सरकारको धेरै ध्यानाकर्षण गरायौं तर सुन्दैन, देख्दैन,’ गुरागाइँले भने, ‘लाखौं सडकमा उतारेर भाषण गर्न हुने तर बोर्डर खोल्न नहुने ? तत्काल बोर्डर खोल्न र पर्यटकीय प्रोटोकल फेर्न हामी दबाव दिँदैछौं ।’

एयरलाइन्सले नभइ व्यवसायीले पोखरा–नेपालगञ्ज हवाई सम्बन्ध जोडेको नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलको भनाइ छ । नेपालगञ्जका व्यवसायीले पोखरामा प्याकेज सार्वजनिक गर्दै पर्यटक बोलाउने र पोखराले नेपालगञ्जमा त्यसै गर्ने अध्यक्ष सिग्देलले बताए ।

‘नेपालगञ्जले प्रतिव्यक्ति एक रातको १० हजार रुपैयाँको प्याकेज दिएको छ भने पोखराले एक दिनको ३ हजार ५ र २ दिनको ५ हजार ५ सयको प्याकेज दिएको छ,’ सिग्देलले भने……………..

https://frontlinecheck.com/public/user/lamkichuha

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here