कांग्रेस सुदूरपश्चिम सभापतिमा वीरबहादुर बलायरको प्यानल विजयी
१९ मंसिर, धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका वीरबहादुर बलायरको प्यानल नै विजयी भएको छ।
आइतबार बिहान पदाधिकारीको मतगणना सकिएको हो । प्रदेश अभिवेशनमा कुल १ हजार ३ मत खसेकोमा बलायरले ६८८ मत ल्याउन सफल भए। रामचन्द्र पौडेल पक्षबाट बलायरसँग भिडेका नारायणदत्त मिश्रले भने २८० मत ल्याए ।
यस्तै, २ जना उपाध्यक्षमा पनि संस्थापन पक्षका जनकराज चौधरी र लोकराज अवस्थी पनि विजयी भएका छन् । चौधरीले ६१० मत र अवस्थीले ५२३ मत ल्याए ।
संस्थापन पक्षबाटै चुनाव लडेका हिमबहादुर रावलले १२१ मत ल्याए । उनले उमेदवारी फिर्ता लिने सहमति भएपनि ढिला भएकाले फिर्ता लिन पाएका थिएनन् ।
पौडेल पक्षबाट चुनाव लडेका गोपाल गुरुङ २८१ मत र मनबहादुर रावलले २६३ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।
२ जना महामन्त्री पदमा पनि संस्थापन पक्षका नरनारायण शाह (मनु) र मघराज खडका विजयी भएका छन् ।
शाहले ६४८ मत र खडकाले ६३५ मत ल्याए । संस्थापन इतरका प्रताप गुर्धामीले २१४ मत र रामबहादुर शाहीले ३०३ मत प्राप्त गरे ।
दुईजना सह महामन्त्रीका लागि भएको निर्वाचनमा पनि संस्थापन पक्षका गोपाल दत्त भट्ट र चिन्तामणी भट्ट निर्वाचित भएका छन ।
गोपालले ५२९ मत र चिन्तामणीले ५३३ मत ल्याए । संस्थापन इतर पक्षबाट चुनाव लडेका नरेन्द्रप्रसाद भट्ट २१२, पदमराज पन्त २५५, लक्ष्मणबहादुर शाहीले १६४ मत र हर्कबहादुर स्वारले ८६ मत प्राप्त गरे ।
सह महामन्त्री (महिला) मा अम्बिका चलाउने ६८६ मतका साथ विजयी भएकी छन् । उनीसँगै संस्थापन इतर पक्षबाट चुनाव लडेकी खिना भण्डारी (कुवर)ले २३२ मत प्राप्त गरिन् ।
खुला, खसआर्य, महिला, दलित, मुस्लीम सहित विभिन्न क्षेत्रबाट ५१ जना प्रदेश सदस्यका लागि १२२ जनाको उमेदवारी परेको थियो । सदस्यको मतगणना भने अझै सकिएको छैन ।
प्रतिक्रिया दिनुहोस्