ए डिभिजन लिगमा संकटासँग हारबाट जोगियो मनाङ
१८ मंसिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा संकटा र मनाङ मर्स्याङ्दी क्लबले अंक बाँडेका छन् ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा मनाङ र संकटले २–२ को बराबरी खेलेका हुन् । खेलमा दुई पटक अग्रता बनाएको संकटाले अन्तिम समयमा गोल खाएको थियो ।
मनाङका लागि इन्जुरी टाइमको चौथो मिनेटमा फ्रांकलिन क्वेटे टालाले बराबरी गोल गरेका हुन् ।
खेलमा संकटाका लागि निरज बस्नेत र उत्तम राईले गोल गरे । खेलको ३१ औं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा निरजले हेडर गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए ।
तर चार मिनेटपछि नै मनाङले बराबरी गोल फर्कायो । ३५ औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा ओलावाले आफिजले मिलाएको पासमा दयानन्दले गोल गरे ।
दोसो हाफमा संकटाले मनाङमाथि दोस्रो पटक अग्रता लियो । ७०औं मिनेटमा उत्तम राईले फोडे फोफानाको पासमा गोल गर्दै संकटालाई अग्रता दिलाए । तर ईन्जुरी टाईममा विदेशी खेलाडी टालाले गोल गर्दै मनाङको हार टारे ।
बराबरीपछि मनाङ ३ खेलबाट ७ अंक जोड्दै दोसो स्थानमा छ । संकटा समान खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्