मोरङमा कांग्रेसको नेतृत्व चयन गर्न आज पुनः मतदान

१४ मङि्सर, विराटनगर । नेपाली कांग्रेस मोरङको नयाँ नेतृत्व चयनका लागि मंगलबार पुनः मतदान हुँदैछ। विराटनगर महानगरपालिका–३ शंकरपुरस्थित मैदानमा अपरान्ह १२ बजेबाट मतदान सुरु हुने भएको हो। मतदानको समय साँझ ५ बजेसम्म तोकिएको छ।

दोस्रो पटक मतदानको तयारी भइरहेका बेला पार्टीको केन्द्रीय सभापतिका आकांक्षी डा. शेखर कोइरालाविरुद्ध संस्थापन र संस्थापनइतर समूहबीच मोर्चाबन्दी भएको छ।

frontline

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आइतबार मोरङको नेतृत्व चयनका लागि भएको निर्वाचनमा कोइरालानिकट डिगबहादुर लिम्बू, पार्टी सभापति शेरबहादुर देउवा एवं संस्थापन पक्षीय दिलीप गच्छदार र कृष्णप्रसाद सिटौलानिकट यदु विष्ट उम्मेदवार बनेका थिए।

तर लिम्बू, गच्छदार र विष्ट कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः दोस्रो पटक मतदान हुन लागेको हो। 

मतदानअघि कोइराला पक्षबाट जिल्ला सभापतिका उम्मेदवार बनेका लिम्बूविरुद्ध मोर्चाबन्दी भएको छ। दोस्रो निर्वाचनको प्रतिस्पर्धाबाट बाहिरिएका सिटौला पक्षीय विष्टले सोमबारसाँझ संस्थापन समूहका उम्मेदवार गच्छदारलाई समर्थनको घोषणा गरेका छन्। 

पहिलो निर्वाचनको मतपरिणाम अनुसार तेस्रो बनेका विष्ट यसअघि कोइरालानिकट मानिन्थे। प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री एवं कोइरालानिकट नेता केदार कार्कीले मोर्चाबन्दी अस्वभाविक भएको बताए।

उनले विष्ट गच्छदारको पक्षमा खुल्नु शंकास्पद रहेको बताए। रातारात कित्ता परिवर्तन हुँदा आर्थिक चलखेल भएको हुनसक्ने कार्कीको आशंका छ। तर मतदाताले विवेक प्रयोग गरेर कोइराला पक्षबाट उम्मेदवार बनेका लिम्बूलाई विजयी गराउने दाबी उनको छ। 

आइतबार भएको निर्वाचनमा ३ हजार ४ सय १४ मत खसेको थियो। जसमा संस्थापनइतर उम्मेदवार लिम्बूले १ हजार ५ सय ४४, संस्थापन पक्षीय गच्छदारले १ हजार १ सय ६६ र सिटौलानिकट विष्टले ५ सय ६३ मत ल्याए। तीनै जनाको ५१ प्रतिशत मत नआएपछि पुनः मतदान हुन लागेको हो। 

यसैबीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि औपचारिक रूपमा संस्थापन पक्षमा खुलेका छन्। अहिले सिटौलाको कित्तामा पुगेका उनी यसअघि डा. कोइरालाको पक्षमा थिए।

विष्टले गच्छदारलाई समर्थन गर्नका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भएर पराजुली संस्थापनको प्यानलमा खुलेका हुन्। 

संस्थापन पक्षलाई मोरङमा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंह पक्षले पनि साथ दिएको बताइन्छ। जसका कारण मोरङमा कोइराला पक्ष एक्लै बनेको छ। आइतबार भएको निर्वाचनमा भने विष्टलाई सिटौलासहित पौडेल र सिंहको पनि समर्थन रहेको नेताहरुले बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here