चितवन महाधिवेशन : एमालेलाई उत्सव, पूर्वमाओवादीलाई तनाव

७ मंसिर, काठमाडौं । नेकपा (एमाले)का नेता तथा कार्यकर्ताले चितवनमा हुँदै गरेको १० औं महाधिवेशनलाई उत्सवका रूपमा लिएका छन् ।

मंसिर १० देखि १२ गतेसम्म तय महाधिवेशनले पाँच वर्षका लागि नेतृत्वसँगै पदाधिकारी र केन्द्रीय समिति छनौट गर्दैछ ।

frontline

पार्टीको मागदर्शन पनि यो महाधिवेशनले तय गर्नेछ । पार्टीको मार्गदर्शन तय गर्ने र अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको छनोट हुने  भएकाले पनि अधिकाशं नेता कार्यकर्ताले महाधिवेशनलाई उत्सवका रूपमा लिएका छन् । 

तर एमालेभित्रकै एउटा सम्रहलाई महाधिवेशन तनावको विषय बनेको छ । विशेषगरी, पूर्वमाओवादी पृष्ठभूमिकाहरूका लागि आसन्न महाधिवेशन तनावको विषय बनेको हो । 

सर्वोच्च अदालतको आदेशले नेकपाको अस्तित्व टुंगिएपछि पूर्वमाओवादी पृष्ठभूमिका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साहलगायत नेता माओवादीमा नफर्किएर केपी शर्मा ओलीसँगै एमालेमा रहेका थिए । 

‘हामीले यो महाधिवेशन एकताको महाधिवेशन हुनुपर्छ भनेका छौं । तर अहिलेसम्मको स्थिति हेर्दा केन्द्रीय सदस्यका लागि चुनाव हुने देखिन्छ । चुनाव हुँदा हाम्रो समूहको कोही पनि निर्वाचित नहुन सक्छन्,’ माओवादी पृष्ठभूमिका एक एमाले नेताले भने । 

पूर्वमाओवादी समूहका नेता निर्वाचित हुने कम सम्भावनाका लागि त्यस समूहका नेताहरूले केही तर्क अघि सारेका छन् ।

पहिलो तर्क छ, महाधिवेशन प्रतिनिधि सबै ओलीनिकट छन् र उनीहरू माओवादीप्रति आक्रामक छन् । ती प्रतिनिधिलाई माओवादीको पूर्वसमूहप्रति आशा, भरोसा र सम्मान केही पनि छैन । त्यसकारण पनि उनीहरूको मत पाउन मुस्किल छ ।

दोस्रो तर्क छ, ओलीले म जिताउँछु त भन्लान् । तर पनि भोट आउँदैन । किनभने, पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूले अधिकांश कार्यकर्ता नै चिन्दैनन् । 

एक नेताले  यो अप्ठ्यारो स्वीकार गर्दै भने, ‘हामी त केपी ओलीसँग छलफल गरेर यता लाग्यौं । चुनावमा जाँदा न हामीले कार्यकर्ता चिन्छौँ, न कार्यकर्ताले हामीलाई चिन्छन् ।’ त्यस्तो अवस्थामा पूर्वमाओवादी समूहबाट कोही पनि केन्द्रीय समितिमा आउन नसक्ने खतरा रहेको पूर्वमाओवादी समूहको चिन्ता छ । 

तेस्रो तर्क छ, हाम्रो कारण आगामी निर्वाचनमा सहज हुन्छ भन्ने बुझाइ उनीहरूमा छैन् । उनीहरूलाई लागेको छ, माओवादीमा पुष्पकमल दाहाल प्रचण्डलाई बोझिला भएका मान्छेहरु यता आएका हुन् । पूर्वमाओवादी समूहप्रति सुरुका दिनमा एमाले पंक्ति सकारात्मक रहे पनि अहिले आउँदा सकारात्मक नरहेको उनीहरूको बुझाइ छ । यिनै कारण निर्वाचनमा जाँदा आफूहरू पत्तासाफ हुने एमालेभित्रका पूर्वमाओवादी समूहको बुझाइ छ । 

तर एमालेका एक प्रभावशाली नेताले भने पूर्वमाओवादी नेताहरूका लागि खुलेर मत माग्ने र उनीहरूलाई आवश्यकताअनुसार केन्द्रीय र स्थायी समितिमा स्थान दिने बताए । 

‘हामीले एकताको महाधिवेशन गर्दैछौं । त्यसकारण पनि उहाँहरूका लागि विशेष व्यवस्था गर्नेबारे नेतृत्व सचेत छ,’ ती नेताले भने ।

पूर्वमाओवादी पृष्ठभूमिका नेताहरू भने एमालेका नेता मात्रै होइन ओलीले नै मत मागे पनि निर्वाचनबाट आफूहरु केन्द्रीय समितिमा आउन नसक्ने बताउँछन् । पूर्वमाओवादीका ती नेताले महाधिवेशनबारे टिप्पणी गरे पनि नाम उल्लेख गर्न भने चाहेनन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here