सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्गका पक्की पुल जोखिममा

७ मंसिर, बझाङ । सेती नदी तथा अन्य खोलामा आएको बाढीले बझाङ जिल्ला सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्गका पक्की पुल जोखिममा परेका छन् ।

कतिपय ठाँउमा बाढीले कटान गरेर जोखिममा पारेको छ भने कतिपय ठाँउमा पुल नै पुरिने अवस्था आएको छ । मुख्य राजमार्ग जोड्ने सेती नदीमाथि बनेका र अन्य खोलाहरूमा निमार्ण भइसकेका र निमार्णाधीन पक्की पुलहरू कात्तिक पहिलो साता आएको वेमौषमी वर्षाका कारण गएको बाढीपहिरोले जोखिममा परेका हुन् । 

frontline

जयपृथ्वी राजमार्ग र सेती लोकमार्ग जोड्ने झनाना पक्की पुल, मौरीबगरमा रहेको तारुगाड पक्की पुल, चैनपुर ताक्लाकोट सडकखण्डमा पर्ने सुनिकोट गाड पक्की पुल, नारुगौडामा र तमैलमा बन्न लागेको निमार्णाधीन पक्की पुल जोखिममा रहेका छन् । 

जयपृथ्वी राजमार्ग र सेतीलोकमार्ग जोड्ने झनाना पक्की पुलबाट सवारीसाधन गुड्न बन्द गरिएको छ । पुलको झनाना बजार तर्फको पिल्लरमा सेती नदीको बहाबले क्षति पुगेको थियो ।प्राविधिकहरूको टोलीले पुलको पिल्लरमा क्षति पुगेको जनाएको छ । पिल्लर कमजोर भएकाले ठूला सवारी हाँक्न जोखिम रहेकोले प्राविधिक टोलीले पुलमा गाडी नचलाउन सुझाव दिएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

सेती पारीका तीन गाँउपालिका तथा छिमेकी जिल्ला बाजुरा र अछामलाई सडक संजालसँग जोड्न तमैलमा निमार्ण हुन लागेको पक्की पुलको एकातर्फको पुरै भाग बगाएको छ । तमैल पुल निमार्णको अन्तिम चरणमा थियो । निमार्ण कम्पनीले पुलको ६५ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । तर, सेती नदीमा आएको बाढीले तमैलतिरको जमिन बगाएर पुललाई नदीको बीचमा राखेको छ । 

२०७३ सालमा ठेक्का सम्झौता गरी तीन वर्षमा सम्पन्न गर्ने गरी के.इस कन्स्ट्रक्सनले ११ करोडमा पुल निमार्णको जिम्मा लिएको थियो । ठेकेदारको लापरवाहीले समयमै निमार्ण गर्न नसकिएको पुल सेती नदीले बगाउँदा झन् अलपत्र परेको छ । 

बाढीले पुलमा पुर्‍याएकाे क्षतिका विषयमा चैनपुर ताक्लाकोट सडक परियोजनाको उत्तर खण्डले विभागमा पत्र पठाइसकेको छ । पुल निमार्णको कामलाई कसरी निरन्तरता दिने भन्ने विषयमा छलफल गर्न कार्यालय प्रमुख काठमाडौं गइसकेकाले निमार्ण कार्य चाँडै सुरु हुने प्राविधिक विष्णु खातीले बताए ।

दुर्गाथली गाँउपालिकाको मुख्य व्यापारिक केन्द्र रहेको मौरीबगरको तारुगाड पुल पनि जोखिममा छ । तारुगाड खोलामा आएको बाढीले ढुङगा माटो थुपारेपछि पुल जोखिममा रहेकाे हाे । तारुगाड खोला अहिले पुलको एकापट्टि भएर बगिरहेको छ । 

जिल्लामा बिनास्टमेट निमार्ण गरेका ग्रामीण सडकका कारण पुल जोखिममा रहेको यातायात व्यवसायी चक्र बाेहराकाे भनाइ छ । 

उनले भने ‘गाँउ-गाँउ जाने सयौं ग्रामीण सडक डोजरले खनिएका छन् । वर्षाको समयमा डोजरले खनेको माटो पानीले बगाएर भलको रूप लिई खोलासम्म पुग्छ । यस्ता खोलाहरूमा बगेको भल मिसिएर बाढीको रूप लिई ठूलो क्षति हुने गरेको छ । यो पुल पनि ग्रामीण सडककै कारण जोखिममा परेको हो ।’ 

यस्तै अवस्था रहिरहे आउने असारमा पुलको नामोनिसान नरहने उनी बताउँछन् । 

यस्तै चैनपुर ताक्लाकोट सडकखण्डमा पर्ने सुनिकोट गाडको पुल पनि जोखिममा छ । सुनिकोट गाडमा आएको बाढीले पुलको वरपरको भूभाग कमजोर बनाई पुल जोखिममा पारेको छ । 

यसैगरी केदारस्युँ गाँउपालिकाको नारुगौडामा निमार्णाधीन पक्की पुल पनि जोखिममा रहेको छ । पुल छेउसम्म सेती नदी पुगिसकेको छ । बेमौसमी वर्षाका कारण नारुगौडामा सडक पनि बगाएको थियो । अहिले नयाँ ट्र्याक खोलेर राजमार्ग सुचारु भएपनि नारुगौडाको पुल पनि दिगो रूपमा संचालन हुन सक्ने स्थिति छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here