कांग्रेस महाधिवेशन : भक्तपुर निर्वाचन क्षेत्र अधिवेशनको मिश्रित नतिजा

५ मंसिर, भक्तपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भक्तपुरमा भएको प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशनमा मिश्रित नतिजा आएको छ। भक्तपुरका ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा दुईदुई स्थानमा संस्थापन र संस्थापनइतर पक्षले प्यानलै जितेको हो।

पार्टी सभापति शेरबहादुर देउवाको संस्थापन पक्षले भक्तपुर क्षेत्र नं १ (क) र क्षेत्र नं २ (क) मा जित्दा संस्थापनइतरले क्षेत्र नं १ (ख) र २ (ख) मा प्यानलै जितेको हो।

frontline

भक्तपुर क्षेत्र नं. १ (क) मा संस्थापन पक्षका दुई उम्मेदवारले प्यानलै बनाएर अधिवेशनमा प्रतिस्पर्धा गरेका थिए। संस्थापनका बागी उम्मेदवारलाई संस्थापनइतरले सहयोग गर्दा पनि संस्थापन पक्षका जयन्द्र खड्काको प्यानलले जीत दर्ता गरेको छ। यहाँ संस्थापनका वागी उम्मेदवार जनक खत्री र संस्थापनइतरका मधुराम ढुंगानाले पाएको मत जोड्दा पनि विजयी खड्कालाई भेट्टाउन सकेन।

क्षेत्र १ (ख) संस्थापनइतरका शिवप्रसाद अवालको प्यानल विजयी भएको छ। अवालको प्यानलले संस्थापन पक्षका पवन भुजुको प्यानललाई नै हराएको हो।

भक्तपुर क्षेत्र नं २ (क) मा संस्थापन पक्षका प्रदीप कार्कीले संस्थापनइतरका राजु खड्कालाई पराजित गर्दा २ (ख) मा संस्थापन पक्षका किरण थापा श्रेष्ठ संस्थापनइतरका ओमप्रकाश श्रेष्ठसँग पराजित भए।

भक्तपुरका ४ नपाको अधिवेशनमा पनि संस्थापन र संस्थापनइतरले आधाआधा पालिकामा आफ्नो वर्चश्व बनाएका थिए। जसको प्रत्यक्ष असर प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशनमा परेको छ।

दुई पक्षले जहाँजहाँ नगर सभापति जिते सोही प्रदेश निर्वाचन क्षेत्रमा आफ्नो जीतलाई निरन्तरता दिन सफल भएका छन्। भक्तपुर क्षेत्र नं १ (क) मा चाँगुनारायण नपा र भक्तपुर नपाका एउटा वडा रहेको छ। चाँगुनारायण नपामा संस्थापन पक्षबाटै शिवहरि केसी कांग्रेस नगर सभापतिमा विजयी भएका थिए। क्षेत्र नं १ (ख) रहेको भक्तपुर नगरपालिकामा संस्थापनइतरका राजेन्द्र तमखू नगर सभापति विजयी भएका थिए।

त्यस्तै क्षेत्र नं २ (क) रहेको सूर्यविनायक नपामा संस्थापन पक्षका निशान ढुंगेल नगर सभापति निर्वाचित हुँदा २ (ख) मा संस्थापनइतरका हरिदास प्रजापति नगर सभापति विजयी भएका थिए।

नगर र प्रदेशसभा निर्वाचन क्षेत्रको मिश्रित परिणामले संघीय निर्वाचन क्षेत्रको अधिवेशनमा दुईपक्षबीच कडा प्रतिस्पर्धा हुने सम्भावना बढेको छ। दुई संघीय निर्वाचन क्षेत्र रहेको भक्तपुरमा दुवै क्षेत्रको आधा आधा नगरपालिका र प्रदेशसभा निर्वाचन क्षेत्रमा दुवै पक्षले आआफ्नो प्रभाव देखाएका छन्।

भक्तपुरमा यसवर्ष कांग्रेसको परम्परागत समीकरण भत्किएको थियो। संस्थापन पक्षका पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, कानुन आयोगका पूर्वअध्यक्ष बाबुराजा जोशी, मध्यपुर नगरका पूर्वसभापति अष्टकुमार कवे, सूर्यविनायक नपा ६ का राजनकाजी त्वाती यसपालिका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री शशांक कोइरालाको संस्थापन इतर पक्षका विनोदप्रकाश कायस्थ, पूर्वजिल्ला सभापति महेश श्रेष्ठलगायतसँग सहकार्य गर्न पुगेका थिए। उक्त सहकार्य भएसँगै संस्थापनइतर पक्षले पालिकास्तरीय अधिवेशनमा दुइटा नगरपालिकामा जीत दर्ता गर्न सफल भएको छ। यहाँ पार्टी सभापति देउवाको संस्थापनविरुद्ध पौडेल–कोइरालासँगै प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि गुटले सहकार्य गरेका हुन्।

विगतमा चारवटै नपामा सभापति जितेको संस्थापन पक्षले यसपालि दुइटा नगर सभापति गुमाउनु परेको छ। भक्तपुरमा शक्तिशाली देखिएको संस्थापन पक्षले यसअघि दुई संघीय निर्वाचन क्षेत्र सभापतिसँगै जिल्ला सभापति जितेको थियो।

वर्तमान जिल्ला सभापति दुर्लभ थापाले पार्टीमा अराजकता भित्र्याएर एकलौटी गरेको भन्दै यसवर्ष परम्परागत समीकरणमा फुट आएको हो तैपनि भक्तपुरमा संस्थापन पक्षले आफ्नो प्रभाव कमजोर नभएको देखिएको छ।

संस्थापनले भक्तपुर क्षेत्र नं २ मा क्षेत्रीय सभापतिका उम्मेदवारसमेत सार्वजनिक गरिसकेको छ। उसले यहाँ वर्तमान क्षेत्रीय सभापति नारायणभक्त खायमलीलाई नै अघि सारेको छ। उसले क्षेत्र नं २ मा संस्थापन इतरले कसलाई उम्मेदवारी दिन्छ भनी प्रतिक्षा गरिरहेको छ। क्षेत्र नं १ का वर्तमान सभापति जीवन खत्रीले अहिल्यै उम्मेदवारी घोषणा गर्ने बेला नभएको बताए।

उनले मंसिर ६ गतेमात्रै आफूहरुले क्षेत्रीय सभापतिका उम्मेदवार सार्वजनिक गर्ने प्रतिक्रिया दिए। संस्थापन पक्षका खत्रीले क्षेत्र नं २ मा जस्तै यसवर्ष आफू पनि दोहोरिन चाहेको इच्छा भने पार्टीमा जाहेर गरिसकेका छन्। तर संस्थापन पक्षले निर्णय नदिँदा खत्री खुल्न सकेका छैनन्।
संस्थापनइतरबाट भक्तपुर क्षेत्र नं १ मा उद्धव खड्काले आकांक्षा राखेका छन्। क्षेत्र नं २ मा भने भेषबहादुर कार्की र विदुरमानसिंह बस्नेतले आकांक्षा राखेका छन्। प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशनको परिणामले दुइटै क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिएकाले दुवै पक्ष प्रभावशाली व्यक्तिलाई उम्मेदवार  बनाउने तयारीमा लागेको कांग्रेस नेताहरु बताउँछन्।

क्षेत्रीय अधिवेशनका क्रममा महाधिवेशन प्रतिनिधिमा पराजित हुने आशंकाले जिल्ला सभापतिका दावेदार नेताहरु अहिलेसम्म खुल्न सकेका छैनन्। भक्तपुरमा संस्थापन पक्षबाट वर्तमान जिल्ला सभापति दुर्लभ थापा एकमात्र फेरि सभापति बन्ने लाइनमा छन्। संस्थापन इतरबाट भने विनोदप्रकाश कायस्थ, अष्टकुमार कवे, पूर्वजिल्ला सभापतिद्वय महेश श्रेष्ठ, गणेशमान चक्रधर र जिल्ला सचिव उद्धव सिलवालले सभापति बन्ने आकांक्षा राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here