बारले प्रधानन्यायाधीशविरुद्धको आन्दोलन सशक्त पार्दै

फाइल तस्बिर

५ मंसिर, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन सशक्त पार्ने भएको छ। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको बारले आइतबारदेखि साताव्यापी आन्दोलनको घोषणा गरेको हो।

आइतबार बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने बारले निर्णय गरेको छ।

frontline

बारका महासचिव लिलामणि पौडेलका अनुसार सोमबार १० देखि १२ बजेसम्म देशभरका अदालतमा हातमा कालोपट्टी बाँधेर धर्ना, विरोधसभा गरिने छ। ‘

हामीले संसदमा रहेका सबै राजनीतिक दलका संसदीय दलमा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेका छौँ। मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादको बाहेक कुनै पनि अदालत, न्यायाधीकरणहरूमा फिराद, प्रत्युत्तर, पुनरावेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने नगराइने बारले निर्णय गरेको छ’, महासचिव पौडेलले भने।

बुधबार १८ वटा उच्च अदालत तथा उच्च अदालतका इजलास रहेका स्थानमा बृहत् विरोध सभा आयोजना गर्ने बारको तयारी छ। ती कार्यक्रममा नेपाल बारका केन्द्रीय प्रतिनिधि पर्यवेक्षक रहने छन्।

बुधबार नै ती उच्च अदालतमा बहस पैरवी नगर्ने बारले जनाएको छ। यस्तै, मंसिर ९ र १० गते बारले काठमाडौं उपत्यकाका सबै बार इकाइका सदस्यको सहभागितामा सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रम गर्ने बारले जनाएको छ। 

यसैबीच बारले आगामी मंसिर २४, २५ र २६ गते पोखरामा हुने भनिएको राष्ट्रिय सम्मेलन स्थगित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here