अदालत लडाइँको थलो, कालो पट्टी बाँध्ने ठाउँ, वकिलको कुटाकुट गर्ने ठाउँ : अध्यक्ष ओली

२ मंसिर, नेपालगन्ज । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई न्याय दिन छोडेर अदालतमा भइरहेको आन्दोलनलार्ई देशका लागि अत्यन्तै दुःखद स्थिति भएको बताएका छन्।

राजनीतिज्ञ, उद्योगपति तथा समाजसेवी पशुपति दयाल मिश्रलाई बुधबार दिउँसो नेपालगन्जमा एमालेमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारलाई बहिर्गमन गर्ने उद्देश्यबाट न्यायालयमा ‘तमासा’ सुरु भएको बताए।

frontline

‘अदालत लडाइँको थलो, अदालत कालो पट्टी बाँध्ने ठाउँ, अदालत वकिलहरुको कुटाकुट गर्ने ठाउँ, आन्दोलन गर्ने ठाउँ र बन्द गर्ने ठाउँ भएको छ।

जनतालाई समस्या परिरहेको छ,’ उनले भने, ‘न्यायाधीशहरु पारिश्रमिक लिनु भएको छ। गाडी चढेर जानु भएको छ। त्यो पनि एमालेका विरुद्ध। कोही इमेल लेखेर पठाउँछन्। कोही इमेल पढेर बसेका छन्। जनताका विषयमा होइन।

यो अत्यन्तै दुःखद स्थिति हो, देशमा। अहिले पनि हुन नदिन तपाईँ हामी सबै दाजुभाइ दिदीबहिनीहरु सचेत भएर यस स्थितिको अन्त्य एकताबद्ध भएर अघि बढ्नुपर्छ।’

उनले एमाले अदालतको मर्यादा बढोस्, अदालतप्रति जनविश्वास बढोस् र अदालतले आफ्नो गरीमा कायम राख्ने गरी व्यवहार गरोस् भन्ने चाहेको पनि बताए।

४५ मिनेटको भाषणमा अधिकांश समय आफू प्रधानमन्त्री हुँदा गरेका कामको चर्चा गरेर बिताएका ओलीले एमालेलाई विकासवादी दलका रुपमा ब्याख्या गरेका थिए।

एमालेको लोकप्रियताबाट सत्ता गठबन्धनका दलहरु अत्तालिएको उनले जिकिर गरे। सत्ता गठबन्धनका दलहरु एक्लाएक्लै निर्वाचनमा आए जमानत नै जफत हुने जिकिर गर्दै उनले भने, ‘सुन्नु भएको छ तपाईँले चुनावसम्मै गठबन्धन गर्छौ भनेका छन्।

गठबन्धन बिना चुनावमा आउनुभयो भने उहाँहरु जमानत जफ्त हुनेछ। एमालेसँग लड्न तपाईँहरु मिलेरै आए हुन्छ।’

माधव नेपाल र प्रचण्डलाई ‘कुलंघार’को संज्ञा दिँदै नेपाली कम्युनिष्ट आन्दोलनमा यस्ता प्रवृत्ति आउन नहुने उनको जोड थियो।

नेपाली कांग्रेसलाई भने उनले बीपी कोइराला, गणेशमान र कृष्णप्रसादको विचार छोडेर प्रचण्डपथको पिछलग्गु भएको आरोप लगाएका थिए।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष लीला गिरी, एमाले बाँकेका उपाध्यक्ष किश्मतकुमार कक्षपति, नवप्रवेशीद्वय पशुपति दयाल मिश्र र करिम खाँले एमाले पार्टीका किन कार्यकर्तालाई आकर्षण छ भनेर व्याख्या विश्लेषण गरेका थिए।

एमाले बाँकेका सचिव रत्न खत्रीले कार्यक्रममा जिल्लाका सबै स्थानीय तहबाट गरी चार हजारभन्दा बढी व्यक्ति एमालेमा प्रवेश गरेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here